
युवा लेखक उपेन्द्र भुषालको पहिलो कृति ‘सुहाना’ आउने भएको छ । आगामी माघ १७ गते शनिबार पुस्तक विमोचन गरिने तयारी गरिएको सम्पूर्ण किताबले जनाएको छ ।
विमोचन कार्यक्रम गैंडाकोटस्थित नारायणी रिसोर्टमा हुनेछ । पुस्तक बिएन पुस्तक संसार काठमाडौंले प्रकाशन गरेको हो । सम्पूर्ण किताबको आयोजनामा पुस्तक विमोचन कार्यक्रम हुन लागेको हो ।
भुषाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा कृषि विज्ञान अध्ययनरत छन् । उमेरले भरखरै २० पुगेका उनको ‘सुहाना’ पहिलो कृति हो । सुहानामा एघार बाह्र पढ्ने उमेरसमूहका विद्यार्थीहरुको कथा छ । माध्यमिक तह सकिएपछिका छटपटी, सपना, आशा,उत्साह अनि साथसाथै युवा अवस्थाको प्रेमयात्रालाई उपन्यासको कथानक बनाइएको लेखक भुषालले बताए ।
`उपेन्द्र भुषालले पुस्तक मार्फत आफ्नै आवाज बोलेर एउटा महत्वपूर्ण प्रयास गरेका छन्,´ प्रकाशक बिएन पुस्तक संसारका सूर्य बिसीले भने- `आफ्नै उमेर समूहका साथीभाइको कथा उनेर पुस्तकलाई पठनीय बनाएका छन् ।´ सुहाना ठूलो सपना साँचेर उच्च शिक्षा पढ्दै गरेका विद्यार्थीहरूको कथा भएकोले यो उमेर समूहलाई पुस्तक मनपर्ने बि.सीले विश्वास लिए ।