कावासोती, १६ माघ ।
साहित्य बजारमा पछिल्लो समय चर्चामा रहेका तीन पुस्तकमाथि कावासोतीमा चर्चा गरिएको छ । चितवनका पत्रकारहरू विनोदबाबु रिजालको एकान्तवास, सूर्यप्रकाश कँडेलको मोसो र वसन्त पराजुलीको कुमाता पुस्तकमाथि चर्चा गरिएको हो । स्रस्टासँग संवाद नाम दिइएको कार्यक्रममा प्रस्तुत भएका तीनै जना लेखकहरूले आफूले पुस्तक लेख्नुको कारण र पुस्तकको रचनागर्भ जानकारी गराएका थिए ।

एकान्तवास पत्रकार बिनोदबाबु रिजालको लकडाउन डायरी हो । कोभिड १९ का कारण विश्वव्यापी लकडाउन भएका बेलामा घरमै बन्द कोठामा बिताएका रिजालले लकडाउनका दैनिकीलाई डायरीको रूपमा लेखेका थिए । `त्यहि लेखनीलाई किताबको रुप दिएको हुँ´- पत्रकार रिजालले भने । रिजाल कायाकैरन दैनिकमा सम्पादक छन् ।  अर्को पुस्तक मोसो उपन्यास हो । पत्रकार सूर्यप्रकाश कँडेलले पत्रकारिताका नराम्रा पक्षलाई उपन्यासमा उतारेका छन् । दुई दशक लामो समयदेखि पत्रकारिता गरिरहेका कँडेल सफलखबर डटकममा समाचार सम्पादक छन् ।  एकान्तवास र मोसोलाई युरेका पब्लिकेसन्सले प्रकाशन गरेको हो ।
त्यसैगरी कुमाता कथासङ्ग्रह हो । गोरखापत्र दैनिकमा कार्यरत पत्रकार वसन्त पराजुलीले सामाजिक र समसामयिक बिषयवस्तुमा आधारित रहेर लेखेका कथाहरू सङ्ग्रहमा छन् । पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो । यी तीन वटै पुस्तक अहिले चितवनमा सर्वाधिक बिक्री भएका पुस्तक मानिन्छन् । पत्रकारहरूले लेखेका पुस्तक भएकोले नवलपुरका पत्रकार एवम् पाठकमाझ पुस्तकका गाम्भिर्यता जानकारी गराउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्था सायरा मिडिया एण्ड इभेन्टस् प्रालिका प्रबन्ध निर्देशक रमेशचन्द्र बस्ताकोटीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका गण्डकी प्रदेशका सांसद एवम् नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेले आजको कार्यक्रममा सहभागिता जनाउन पाउँदा आफूले कुनैबेला पत्रकारिता गरेको समयको दृश्य झझल्को बनेको सुनाए । `मैले पनि विकृति र विसंगतिका विरुद्धमा कलम चलाएको छु´ लामिछानेले भने- `अहिलेका पत्रकारले पनि विकृतिका विरुद्ध अविराम कलम चलाउनुपर्छ ।´ तीनै जना पत्रकारले पत्रकारिता सँगसँगै पुस्तक लेखनमा पनि अग्रसर हुनुभएकोमा आफ्नो पेशा प्रति ठूलो उपलब्धि भएको उनले बताए । `हरेक पत्रकारले आफ्नो पेशासँगसँगै नयाँपन र खोजी सहितको सामग्री किताबका रूपमा ल्याउन जरुरी छ,´ लामिछानेले भने- `धेरै पछि यसरी साहित्यिक कार्यक्रममा सहभागिता जनाउन पाउँदा आफूमा सिर्जनात्मक उर्जा थपिएको छ ।´

कार्यक्रममा साहित्यकारहरू कृष्णादेवि शर्मा, भूपेन्द्र गण्डर्षी, सदानन्द जैसी, दीपक सोती, शालिकराम कोइरालालगायतले पुस्तक र स्रस्टाका बारेमा बोलेका थिए । कार्यक्रममा साधना संगम नवलपुरका अध्यक्ष अर्जुन अविरलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार