
घाटमा क्लान्त
चितामा लडिरहेको
उसको शरीर
यसो नियाल्छु
निष्प्राण देख्छु
जो त्यहीँ शरीर पाल्न
दौडधुप गरि हिड्थ्यो
उसका महत्त्वकांक्षी आँखाहरु
आज कान्तिहीन छन्
मौन छन् उसका ओठहरु
जो मौनतालाई चिर्न
खप्पिस थियो ।
भेला भएका छन्
थुप्रै मानिसहरु
उसको अन्तेष्टिमा
चिताबाट पुत्तिरहेको धुवाँसँगै
अस्तुमा परिवर्तित हुँदैछ ऊ
निरन्तर गुन्जिन्छ
सहानुभूतिको च्वच्व
र रोदानका कोलाहलहरु
आलाप सुनिन्छ
उसको चरित्र बारे
महामानव भनी
मृत्युलाई त स्वल्प लाग्यो
उसको महानता
के नै अर्थ रह्यो
र उसको प्रशंसाको
प्रशंसाकै माझ
चल्यो उसको
मृत्युको रमिता ।