
विगत ५ दिनदेखी लोथर- नारायणगढ सडक खण्डमा सञ्चालित मिनीबस तथा माइक्रो व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। जसले गर्दा विद्यार्थीहरु चरम मार परेका छन्।
उनीहरुलाई बिहान कलेज जान पनि धौ धौ भएको छ। फलस्वरूप आज शुक्रबार बिहान लगभग डेढघण्टा उनीहरुले सडक बन्द पनि गरे।
यसै बीच नेपाल विद्यार्थी संघ राप्ती नगर समन्वय समितिले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उल्लेख छ-
“विगत केही बर्ष पहिला ने.वि.संघकै नेतृत्वमा विभिन्न आन्दोलन गरे पश्चात यातायातको सवारी साधानमा विद्यार्थीलाई ४५ % छुटको व्यवस्था स्थापित भएको कुरा सबैमा जानकारी रहेकै छ । यसरी विगतमा यातायात समितिसँग भएको सहमतिलाई केही सवारी साधनले पालना नगरेको र विद्यार्थीलाई छुट नदिएको कुरामा ने.वि. संघ को विशेष ध्यानाकर्षण भएको छ।
लोथर देखी नारायणगढको लागि सञ्चालनमा आएको म्याजिक बसले विद्यार्थी छुट नदिएको र मिनीबसले मात्र दिन नसक्ने भन्दै व्यवसायीहरुले मिनिबस सञ्चालनमा रोक लगाएकाले विद्यार्थीको पढाईमा दख्खल पुगेको छ।”
यसका साथै समस्याको समाधान गर्न पनि नेवि संघ राप्ती नगर समितिले यसै विज्ञप्ति मार्फत अनुरोध गरेको छ।