
नेपाल रेडक्रस उपशाखा बीरेन्द्रनगरले आज बैशाख २२ गते बुधबारबाट नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । रेडक्रसले कोरोनाको यो बिषम परिस्थितीलाइ ध्यानमा राख्दै एम्बुलेन्स सुचारु गरेको हो ।
विभिन्न संघसंस्था तथा व्यक्तिगत चन्दादाताहरुको सहयोगमा एम्बुलेन्स ल्याइएको सोसाइटीले जनाएको छ।
राप्ती नगरपालिकाबाट ७ लाख, राप्ती नगरपालिका वडा नम्बर ७ बाट १ लाख ५० हजार, वडा नं. ८ बाट १ लाख, दुधकोशी सामुदायिक वन उपभोक्ता संस्थाबाट ५० हजार, बलराम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बीरेन्द्रनगरबाट १५ हजार, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनबाट २० हजार, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लोक बहादुर सेढाईबाट १ लाख तथा अन्य चन्दादाताहरुबाट एम्बुलेन्स खरिदको लागि सहयोग प्राप्त भएको हो। एम्बुलेन्स ९८४५१३९०७८,९८१११५७५५६ मा उपलब्ध हुनेछ। एम्बुलेन्सको विशेष सेवा क्षेत्र राप्ती नगरपालिका वडा नम्बर ७,८,९,१० भएता पनि यसले हरेक ठाउँ सेवा दिनेछ।
आज बीरेन्द्रनगरमा एक कार्यक्रमका बिच एम्बुलेन्सको उद्घाटन भएको छ। उद्घाटन कार्यक्रमको प्रमुख अतिथ राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले स्टार्ट गरेको एम्बुलेन्सको उद्घाटन गर्नु भएको हो ।
उहाँले रेडक्रसले कोभिडको समयमा यो खालको प्रयास गरेकोमा शुभकामना सहित धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो । एम्बुलेन्सले बिरामीको सफल र सहि तरिकाले सेवा दिने कुरामा उहाले विश्वास व्यक्त गर्नुभयो । एम्बुलेन्सले सरल सुविधा दिन चालकको महत्त्वपूर्ण भुमिका खेल्ने पनि उहाँले बताउनुभयो।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन सदस्य एवम् जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा नेपाल रेडक्रस सोसाइटी भण्डारा उपशाखाका निवर्तमान सभापति महेश्वर थपलियाले रेडक्रसले एम्बुलेन्सको सहि व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिनु भयो । नेपाल रेडक्रस सोसाइटी सधै राम्रो कामको लागि अघि बढेको र बीरेन्द्रनगर उपशाखाले उपलब्ध गरेको एम्बुलेन्सले मानवसेवामा इट्टा थप्ने कार्य गरेको बताउनुभयो।
कार्यक्रममा बीरेन्द्रनगर उपशाखाका सभापती तथा उद्घाटन कार्यक्रमको सभाध्यक्ष गोपाल सेढाईले एम्बुलेन्स खरिद गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै कोभिडको कारणले कार्यक्रममा सबैलाई समेट्न नपाएको बताउनुभयो।
कार्यक्रममा उद्योग वाणिज्य राप्तीका अध्यक्ष राजकुमार कँडेलले आवश्यक परेमा सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा समाजसेवी एवंम सदस्य शशि महतोले सामाजिक काममा रेडक्रसको उपस्थिती निकै राम्रो रहेको बताउनु भएको थियो । कार्यक्रममा उपशाखाका सचिव हरिशरण डल्लाकोटी , सह सचिव रामकुमार अधिकारी , कोषाध्यक्ष ओम प्रकाश सेढाइ, सह कोषाध्यक्ष शोभा लामिछाने लगायतको उपस्थिती रहेको थियो ।