लाग्छ, हामी ६ दाजुभाइ अलगथलग बस्न थालेको झण्डै १२–१५ वर्ष भयो । म त्यो दिन सम्झन्छु, जतिखेर हामीहरु विधिवत तवरले अलगअलग हुने भनेर सबैजना मूल घरमा जम्मा भएका थियौँ । बिहानैदेखि मलाई एकदमै नरमाइलो लागिरहेको थियो । दाजुभाइ अलग हुने कुराले मेरो मन एक तमासको भइरहेको थियो । ठुल्दाइ (घनश्याम बुढाथोकी) पढेलेखेको, बिद्धान र राजनीतिकर्मी हुनुहुन्थ्यो । उहाँले सबैैलाई न्याय गर्नुहुन्छ भन्ने गाउँ समाज र सिङ्गो दाङलाई विश्वास थियो । त्यसैले अनेत्र पनि त्यस्तै केही समस्या पर्दा मानिसहरु उहाँलाई खोज्न आइरहन्थे । सबैको विश्वास जित्नुभएका ठुल्दाइ हाम्रो घरको पनि हर्ताकर्ता नै हुनुहुन्थ्यो । तसर्थ उहाँले नै भए जतिको जग्गा जमिन भाग लगाउनुभयो । आफ्ना कुरा सबैसामु प्रष्ट राख्नुभयो । उहाँको प्रस्ताव विना कुनै विवाद पास भयो ।

छुट्टिदा बाले छोराहरुलाई मानो दिने चलन हुन्छ भन्ने त सुनेको थिएँ तर त्यसदिन म भुक्तभोगी बन्दै थिएँ । जब त्यो क्षण आयो, बा एक्कासी रुनुभयो । मैले मेरा बा रोएको पहिलोचोटी देखेँ । म अनायास भक्कानिएँ । आज आफु नै पिता भएको पल सम्झन्छु, चरम पीडा झेलेर हुर्काएका सन्तान विधिवत रुपमा अलग हुने कुरा कल्पना गर्दा कति गाह्रो हुँदोरहेछ । मन भरिएर समुद्र बन्दोरहेछ । अझ भनूँ, धरती भासिए जस्तो हुँदोरहेछ ।

म अविवाहित थिएँ । सायद बहिनीको पनि बिहे भएको थिएन क्यारे । बाले भन्नुभयो, ‘कान्छोको बिहे पनि भाछैन । अहिले पढ्दै छ । यो मसँग बस्छ ।’
म एक प्रकारले सानैदेखि बाआमाको भक्त नै थिएँ । एउटा संयोग पनि प¥यो कि विद्यालयमा पढाउने केही गुरुहरु थिए जसले सधैँ ‘बाबुआमा नै जिउदो भगवान् हुन्’ भन्ने सन्देश दिइरहेँ । क्रमशः म यही विश्वासमा दह्रो हुँदै गएँ । अतः मैले बाआमाको साथ छोड्ने कुरै थिएन । अलग भैकन पनि बाआमालाई सबैले सकेको सहयोग गर्ने कुरा पनि भयो । बाका पसिनाले आर्जेको जमिनमाथि भागबण्डा सकियो । त्यसपश्चात सबैजना लाखापाखा हुनुभयो । हामी विधिवत रुपमै अगल भयौँ । एकप्रकारले भन्नुपर्दा एउटा समाजिक विधि पनि पूरा भयो ।

साँझ भक्कानिदै आमाले भन्नुभयो, ‘हेर बाबु, तैले हाम्लाई जसरी पनि नछोरेस् बा । तलाई भगवान्ले हेर्छन् ।’ बाको अनुहार रातो भयो । उहाँले भन्न खोजेको पनि त्यहि थियो । मैले बुझिहालेँ ।
मैले आमालाई आस्वस्त पारेँ । खानपिन भयो । मनमा एकप्रकारको बेचैनी थियो । दाजुभाइ छुट्टिएको कुराले मेरो मन सोकमै थियो । केहीबेर बाआमासँग पहिलो पटक भविष्यबारे कुराकानी भयो । हामी सुत्यौँ । त्यसको एक दुई दिनपछि म काठमाडौँ हिँड्न थालेँ, पढाइका लागि । हिँड्नेबेला आमाले रुँदै मेरो खुट्टा समात्नुभयो र भन्नुभो, ‘हेर कान्छा, त जा बाबु । तँ पढ् । हामीले सक्दासम्म गरौलाँ, नसके एउटा उपाय लाम्ला बाबु । तैले भरि हाम्लाई नछोरेस् बा ।’
एउटी आमा जसले आफुले जन्माएको नाथे छोरासँग जीवन साहराको याचना गरेको देख्दा मेरो मुटु फुट्ला जस्तो भयो ।

‘म छु आमा । तपाई चिन्ता नलिनुस् ।’ मैले रुन्चे स्वरमा भनेँ । जसोतसो सम्हालिदै झोला बोकेँ र ‘म आइहाल्छु नि आमा’ भन्दै हत्तपत्त बाआमाको हात तानेर आशिर्वाद थापेँ । आमा अत्यन्त कमलो मनको हुनुहुन्छ, मलाई थाहा थियो । त्यसैले नै मैले फटाफट बिदा माग्न खोजेँ । आँखा आँशुले भरिएकाले घर छेउको त्यो बाटो पनि मधुरो देखियो । अलिक पर पुगेर फर्किएँ, आमा कुप्रिदै मलाई हेर्दै हुनुहुन्थ्यो । के गर्नु र, म थोरै कठोर पनि बन्नु नै  थियो ।
समयक्रममा मैले एकप्रकारले पढाइ पूरा गरेँ । स्कुले जीवनदेखि नै साहित्य प्रेमि थिएँ । काठमाडौँ छिरेदेखि त झन् पुस्तकसँगको सामिप्यता बढ्यो । ‘अरे आर दाम कमाउन  नसकिएला तर नाम चैँ कमाउनुपर्छ है’ भित्रि मनले यसरी नै हौस्याइरह्यो । शिक्षण र साहित्य मेरो जिन्दगी बन्यो र अन्ततः मैले काठमाडाँैलाई नै कर्मथलो बनाएँ ।
मैले उतिबेलै देखि नै ‘आमा काठमाडौँ जाम् । जसरी भएपनि पाल्छु’ भनिरहेँ । ‘सक्दासम्म गर्छु बाबु । हातखुट्टा लागेसम्म कहीँ जान्नँ’ आमाले पनि सधैँ यही भनिरहनुभयो । जब म आफ्नो परिवारसँग कुनैबेला मिठो मसिनो खाँदैहुन्छ, हरेक पटक आमा सम्झन्छु । आमासँग बसेर कहिल्यै खान पाइएन भनेर श्रीमतीसामु गनगन गर्छु । तर यसमा त उनको के दोष छ र ? जे छ गल्ती मेरै छ । आमा घर छोड्न नसक्ने र म कर्मथलोतिरै भासिदै जाने यहि कारण आमासँग सधैँ बस्न मिलिरहेको छैन । यो नै मेरो वर्षाैदेखिको अन्तर मनको पिडा हो । बेलाबखत सोच्छु, यसको समधान के होला ? कि म नै गाउँ फर्कू, आमाको सेवा गर्न ? अहँ, हुन्न हुन्न ! अवसर त यतै हुनसक्छ । तर कस्तो अवसर ? केको अवसर ? म अनुत्तरित नै छु, एकप्रकारले ।

आज आमा दिवस । विहानै देखि आकास अँध्यारो देखिन्छ । लाग्छ, अब एकैछिनमा पानी पनि पर्छ । म झन् आमा सम्झिरहेको छु । आमासँगै बारी, घरको पेटी या आँगनमा त्यतैकतै डुलिरहेको छु । आमा मेरो स्मृतिमा झन् नजिक भएर आउनुहुन्छ र मलाई बडो प्यारले सुमसुम्याउनुहुन्छ ।
बिहान आमासँग फोनमा कुरा पनि भयो । सदाझै सोध्नुभयो, ‘तँलाई कस्तो छ बाबु ?’ म आश्चर्य चकित पर्छु कि ७४ वर्षकी आमाले अझैँ पनि आफ्नो होइन जवान छोराकै चिन्ता गर्नुहुन्छ । कत्रो हुन्छ हँ आमाको हृदय ? कहाँबाट सिक्नुभयो हँ आमाले विशालताको ज्ञान ?
सधैँ झैँ प्रष्ट छु, बाआमाको चित्त दुखाउनेछैन । बाआमालाई रुवाउने छैन । अँ साँच्चि मातापितालाई रुवाउने सन्तान धरतीमा बाँचेर पनि काम होला र  ?

प्रतिक्रिया

सम्बन्धित खवर