
कोरोना महामारीको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको बताएका हुन् । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै त्यसको जानकारी दिएको हो ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणको चेन ब्रेक गर्न सीसीएमसी निर्देशक समितिको सिफारिसमा यसअघि वैशाख २० देखि वैशाख ३१ गते मध्यरातिसम्मका लागि सरकारले आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो ।
प्राधिकरणले आन्तरिक रुटमा भने आपत्कालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थितिअनुसार अनुमति दिइने जनाएको छ । सामान्य दिनमा भरतपुरबाट पोखरा र काठमाडौँका लागि दैनिक ११ वटासम्म उडान हुने गरेका थिए ।