
राप्ती नगरपालिकाका नगर उप प्रमुख इमान सिंह लामाले दिनमै करिब ५ जना जति दीर्घरोगीहरुलाई अस्पताल पुर्याउने र फर्काउने गर्नुहुन्छ। निषेधाज्ञाले यातायात सेवा ठप्प भएपछि आफ्नो जनसमुदायमा भएका क्यान्सर तथा मृगौला पिडित जस्ता दीर्घरोगीहरुलाई आफै गाडी चलाएर अस्पताल पुर्याउनु हुन्छ।
नगरपालिकाका एम्बुलेन्सले मात्र बिरामी थेग्न नसकेको र कतिपय एम्बुलेन्सहरुले सेवा दिन पछाडी हटेपछि आफै सेवामा उत्रिएको उहाँले बताउनुभयो।
केही दिन अघि मात्र राप्ती ५ निवासी सन्तोष कुँवरकी ७ बर्षकी छोरी सारिका कुँवरको पेट मै एपेन्डिक्स फुट्यो। धेरै एम्बुलेन्सलाई फोन गरियो तर एम्बुलेन्स आएन। उप मेयर लामा बिरामी लिएर अस्पताल पुग्नुभाको मात्र थियो। उहाँलाई फोन पुग्यो र तत्काल कुँवर परिवारलाई सेवा दिन उहाँ कुद्नुभयो। हतार हतार सानी नानीलाई गाडीमा हाली हस्पिटल पुर्याइयो। डाक्टरले भनेँ कि केहीबेर ढिलो भएको भए जे पनि हुन सक्थ्यो।
हिजो जेठ ३ गते मात्र ५ बिरामी अस्पताल ओसार्नु थियो। उहाँलाई सुन्नमा आयो कि एक असी बर्षकी आमा(कान्छीमाया थिङ)को स्तनमा धेरै समय देखि घाउ भएको र घाउमा किरा परेको जानकारी पाउनुभयो। रातरात गरेर भए पनि बिरामीलाई भरतपुर स्थित बिपी मेमोरियल क्यान्सर अस्पताल पुर्याइ छोड्नुभयो। धेरै समय देखि घाउ भएको तर अस्पताल जानलाई समस्या भएको उनको कान्छो छोरा राम बहादुर थिङले बताउनुभयो। यसरी जनतालाई चुस्त सेवा दिन पाउँदा आफूलाई खुशी लाग्ने उहाँ बताउनुहुन्छ।
कोरोनाको पहिलो लहरमा भएको लकडाउनमा पनि सयौँ भन्दा बिरामीलाई सेवा दिई सक्नुभएको उहाँले दोस्रो लहरमा पनि धेरै मात्रामा सेवा दिनु भएको छ।
यसरी दिनकै अस्पताल ओहोरदोहोर गर्दा कतिपय साथी तथा छिमेक आफ्नो नजिक आउन पनि डराउने लामाले बताउनुभयो। यस कोरोनाको माहामारीमा एकसाथ मिलेर यस विरुद्ध लड्नुपर्ने उहाँको भनाइ छ।
बिरामीको ओसारपसार गर्दा यदी तपाईलाई नै कोरोना संक्रमण भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो “जनताको माया, विश्वास र सद्भावले मनोबल उच्च भएको छ, यदी त्यो अवस्था आएमा चाँडो भन्दा चाँडो निको भइ फेरि जनताको सेवामा समर्पित हुनेछु।”
“उहाँहरुले मलाई जनप्रतिनिधि कुर्सीमा लिप्त भएर बस्न बनाउनु भएको हैन,यस्तै गाह्रो अप्ठेरो पर्दा उहाँहरुलाई सेवा दिन सकोस् भनी बनाउनु भएको हो। उहाँहरुको मुहारको खुशीले मलाई सन्तोष दिलाउँछ।” उहाँले थप्नुभयो।
यस्तो विषम परिस्थितिमा पनि आफूहरुले सेवा पाएकोमा राप्तीबासीहरु पनि खुशी छन्। युवाहरुलाई सधैँ साथ र हौसला दिने तथा अन्यायको विरुद्ध उत्रिने उपमेयर लामा युवाहरुको प्यारो त हुनुहुन्थ्यो नै अब सम्पूर्ण राप्तीबासीको भरोसाको केन्द्र पनि उहाँ बन्नुभएको छ।