
नारायणगढको सम्पूर्ण किताब लेखराम मन्दिरमा संजोगले अध्यनशील ५ पाण्डव भेट भए रवि, कवि, छवि, अभी र अजनवी । अचम्म के भने यी ५ पात्रको बीचमा अत्यन्तै राम्रो सम्बन्ध निजी जीवनमा तर राजनीतिक आस्थाका आधारमा ५ दलका अलगअलग घारका मौरी । असल भएर नै यिनीहरू एक भए र एक भएर पनि अनेक भए । आस्थाको आधारमा कहिले पनि ३६ हुने काम गरेनन् ।
आज पनि एकछिन छोई दिल्लगीपछि वार्ता आरम्भ भयो । राजनीति केन्द्रमा साहित्य परिधिमा रामबाबु घिमिरे र सम्प्रेषणका बारेमा पनि चर्चा भयो ।
“साथी हो, आखिर सबैको गन्तव्य राष्ट्रनिर्माण हो । स्थायी शान्ति र दीगोविकास हो । तर पनि हामी एक नभएर किन ५ अलगअलग मार्ग समाउन बाध्य भएका हौं ?´´ -रवि बोल्यो । छवि अघि आयो- “साथी हो, हरेक सिद्धान्त आफैंमा केही होइन, साधन हो, मान्छेको नियत सर्वोपरी हो । इमान र योग्यता हो चाहिने । खोट जहाँ पनि छ । हाम्रो स्कूलिङ गलत छ अर्काकोमा अवगुण मात्र देख्ने, बिरोध मात्र गर्ने, बिरोधका लागि बिरोध हाम्रो संस्कार । हाम्रो विवेक कहिले पनि जागेन । हामी हरेक दलका अनुयायी उही दलका धूर्तहरूद्वारा खेदिएका छौं, आत्मीयता कहीं पनि छैन । सामाजिक सद्भाव खल्बलिएको छ । निर्णायक नै अनिर्णयको बन्दी छ ।
पानी धमिलो छ । शकुनिहरू माछा मार्न व्यस्त छन् । देश खत्तम होइन, हामी खत्तम हौं ! उपाय नास्ति !”
“४१ बर्षदेखि मेरो एउटा अडान छ ” साथी हो, सम्पूर्ण संगठनहरू खारिज गर्नुपर्छ । विद्यार्थीको, शिक्षकको, कर्मचारीको, प्राध्यापकको । राजनीतिक दल मात्र तीन, मात्र तीन । सरस्वतीको मन्दिर राजनीतिमुक्त । मित्रहरू, देश तहसनहस बनाउने हो भने विश्व विद्यालयमा आगो लगाए हुन्छ, जुन काम ३१ वर्षको दौरानमा जाँगर लगाएर गरियो । ठीक व्यवस्था हुने होइन, मान्छे ठीक हुने हो । सम्पूर्ण शिक्षा निशुल्क हुनुपर्छ र शिक्षामा निजीकरण बन्द गरिनुपर्छ । राज्यले चाहेमा सक्छ । कडा कानून, कडा अनुगमन, पुरस्कार र दण्डको उचित व्यवस्था । अहिलेका सम्पूर्ण ६०+ नेता जतिलाई तरकारी खेतीमा अनुदान दिएर व्यस्त गराउने । यिनीहरूको योग्यता यत्ति हो । मन्त्री हुन कमसेकम सक्कली ‘एम ए’ हुनुपर्छ । मेरो रोडम्याप यही हो “- अजनवी बोल्यो । लेखरामले चिया मगायो । सबैले केही किताब किनेर मित्रहरू विदा भए ।
“अजनवी सरको सपना साकार भए कति राम्रो हुने थियो ” – लेखराम कल्पियो ।