घरमा पसेको निहुँमा दलित बालिका कुटपिट गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–४ थापाडाँगीका २३ वर्षीय अमीर श्रेष्ठलाई पक्राउ गरेको छ । १२ वर्षीय बालिकालाई घरमा प्रवेश गरेको भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।

कुटपिटमा संलग्न भएको आरोप लागेका उनका बुवा ६० वर्षीय नन्दलाल श्रेष्ठ र आमा ४७ वर्षीय निर्मला श्रेष्ठ भने फरार छन् ।

आफ्नो घरमा पसेको भन्दै छिमेकी १२ वर्षीया बालिका फूलसरी मग्राती (सार्की)माथि सोमबार बिहान कुटपिट गरेको गुनासो आएपछि अमीरलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

उनका अनुसार सुरुमा निर्मलाले थप्पड हानेको र त्यसपछि परिवारका सदस्यले कुटपिट गरेका थिए । बालिकाकी आफन्त दुर्गाकुमारी रोकाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान र कारवाही अघि बढाएको एसपी खड्काले बताए ।

दुर्गाकुमारीका अनुसार ६ वर्षीया नातिनीलाई लडेर चोट लागेपछि घाउ सेक्नलाई फ्रिजमा आइस जमेको पानी लिन फूलसरी श्रेष्ठको घरमा पसेकी थिइन् । सोह्र श्राद्धका बेला घरमा पसेको आरोप लगाउँदै श्रेष्ठ परिवारले कुटपिट गरेको उनको भनाइ छ । प्रहरीले कुटपिटमा संलग्नविरुद्ध जातीय छुवाछुत ऐनअन्तर्गत कारवाही अघि बढाउन घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार