
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सदनमा राखेको विश्वासको मत प्रस्ताव फेल भएको छ । प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा २७ मत र विपक्षमा ३० मत झरेको छ । विश्वासको मत पास हुन कम्तिमा ३१ मत चाहिन्छ।
विश्वासको पक्षमा एमालेका २७ जना सांसदले मात्र मतदान गरे। विपक्षमा रहेका नेपाली कांग्रेस, जनता समाजवादी, जनमोर्चा र जनता समाजवादी पार्टीका ३० जनाले मतदान गरेका थिए।
मतदानमा युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उपस्थित भएनन् भने जनमोर्चाले कारबाही गरेका कृष्ण थापा तटस्थ बसे ।
ठूलो दलका नेताको हैसियले गत वैशाख २९ गते गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री गुरूङले विश्वासको मत नपाएसँगै अब नया सरकार गठनको अर्को प्रक्रिया शुरु हुनेछ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार विश्वासको मत पाउन सक्ने आधार भएका सांसदलाई मुख्यमन्त्री नियुक्त गर्नेछिन्।