
काठमाडौं,असार ९ । विश्वका अधिकांश गरिब राष्ट्रले कोभ्याक्सअन्तर्गत आवश्यक डोज खोप नपाउँदा खोप अभियान अगाडि बढाउन नसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ । संगठनका वरिष्ठ सल्लाहकार डा। ब्रुस एलवार्डले हाससम्म कोभ्याक्स सुविधाअन्तर्गत १३१ देशमा ९ करोड डोज खोप उपलब्ध गराइए पनि विश्वभर फैलिइरहेको भाइरसबाट जोगाउन यो मात्रा अत्यन्त कम रहेको बताएका हुन् ।
अफ्रिका केही देशमा तेस्रो लहर तीव्र रूपमा फैलिइरहेको बेला खोपको अभाव देखिएको हो । सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले भाइरस रोक्न आफ्नो देशलाई कठिन भएको बताउँदै धनी राष्ट्रले खोप भण्डारण गरेर नराख्न अनुरोध गरेका छन्। दक्षिण अफ्रिका महादेशका २ प्रतिशत जनसंख्याले मात्र हालसम्म खोप पाएका छन् । राष्ट्रपति रामाफोसाले कोभ्याक्ससँग मिलेर दक्षिण अफ्रिकामै खोप उत्पादन गर्ने तयारी भइरहेको पनि बताए ।
विश्वका गरिब राष्ट्रलाई खोप सस्तो दरमा उपलब्ध गराउने उद्देश्यले गत वर्ष कोभ्याक्सको स्थापना गरिएको थियो। विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको यो अभियानअन्तर्गत सन २०२१को अन्त्यसम्म २ अर्ब डोज खोप उपलब्ध गराउने सुरुमा लक्ष्य लिइएको थियो। गरिब राष्ट्रका २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप यो सुविधाले अनुदानमा उपलब्ध गराउने लक्ष्य थियो । तर खोपका उत्पादनमा ढिलाइ तथा आपूर्ति व्यवस्थामा देखिएको गढबढीका कारण कोभ्याक्सको खोपमा भर परेका धेरै राष्ट्रमा खोपको अभाव भएको छ । उगाण्डा, जिम्बाबे, बंगालादेश, ट्रिनिडाड एण्ड टोबागोमा पछिल्ला दिनमा खोपको व्यापक अभाव खट्किएको छ ।