
यही असार ११ गते देखि बेपत्ता रहेकी सुजिता भण्डारीको शव भेटिएको छ। राप्ती नगरपालिका वडा नम्बर ३ मा पर्ने ब्रम्हस्थानी सामुदायिक वनमा शव फेला परेको हो।
च्याउ टिप्न भनी गएका स्थानिय सीताराम प्रजाले गन्ध आएपछि यताउति हेर्दा लास देखिएपछि स्थानिय प्रशासनमा खवर गरेका थिए। त्यसलगत्तै प्रहरीको टोली शव भएको ठाउँमा प्रस्थान गरेको थियो।
भिरालो ठाउँको रुखको जरामा सडे गलेको अवस्थामा शव भेटिए पछि पहिचानको लागि हराइरहेकी सुजिताकी दिदी र भाईलाई खबर गरिएको थियो। उनीहरु दुबै जना लगायत गाउँका स्थानीयहरुले शवको पहिचान गरि सुजिताको नै हो भनी पुष्टि गरेका थिए। पछि उनीको बुबाले पनि सनाखत गरे।
शव सोही ठाउँमा रहेको छ। यस रहस्यमय घटना सम्बन्धि अनुसन्धान गरेर छिटोभन्दा छिटो अपराधीलाई कारबाहीको दायरामा ल्याइने ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव गिरीले बताए।
सुजिताले असार ११ गते दिउँसो १२:१९ मा आफू अपहरणमा परेको आफ्नो दिदीलाई जानकारी गराएकी थिइन्। प्रहरीले तत्काल अनुसन्धान र खोजीकार्य सुरु गरेको थियो।