
सामाजिक संजाल फेसबुकमा चर्चित पेज/ग्रुपहरुको आयोजनामा आज राप्ती ०३ निवासी सुजिता भण्डारीको मृत आत्माको चिर शान्तिको कामनाको लागि दिप प्रज्ज्वलन र घटनाको निश्पक्ष छानबिनको माग गर्दै शान्तिपुर्ण रुपमा विरोध प्रदर्शन सम्पन्न भएको छ।
चितवनको भरतपुरस्थित चौबिसकोठी चोकमा भएको उक्त कार्यक्रममा सामाजिक कार्यमा सक्रिय युवाहरुको साथै अन्य व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो। सचितराज सेढाई र रोमन पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा चर्चित फेसबुक ग्रुप “नेपाली बाजे”, “दारी ग्याङ”, “मिमी नेपाल २.०”, “ढिंडो क्रिकेट”, “नेप्लिज ब्रद्र्स रुम”, “मेन्स एंड उमेन्स रुम रिलोडेड”, “रमाइलो नेपाल” र “जोक्स एंड रियालिटी” का प्रतिनिधिहरुको जमघट रहेको थियो।
मिडियाले सोधेको प्रश्नमा त्यहाँ उपस्थित युवाहरुले यो घटना गम्भीर प्रकृतिको रहेकोले प्रहरीले निस्वार्थ रुपमा अनुसन्धान गरेर हत्यारा पक्राउ गर्नुपर्ने बताए। महिलावर्ग हरुले पनि सुजिता भण्डारी, निर्मला पन्त जस्ता छोरी-चेलीहरु अब यसरी अपहरण, बलात्कार र हत्या जस्ता जघन्य अपराधीक गतिविधिबाट अकालमै मर्न नपरोस् भन्ने धारणा राखेका थिए।