-रासस
चितवन।राप्ती नगरपालिका ३ प्रगतिटोल चितवनकी २३ वर्षीय सुजिता भण्डारीको हत्यानै भएको भन्दै ठूलोवुवाले आइतबार पत्रकार सम्मेलन गर्नुभएको छ । मृतक भण्डारीको ठूलो बुवा खैरहनी ९ डाँडागाउँ निवासी कोमलनाथ भण्डारी र उहाँको बुहारी दुर्गा भण्डारीले पुन समाजको भवनमा पत्रकार सम्मेलन गरी सुजिताको आत्महत्या हुनै नसक्ने भन्दै गहिरो गरी प्रहरीले अनुसन्धान नगरेको आरोप लगाउनुृभयो ।

आत्महत्या गर्न त्यो घनघोर जंगलमा कसरी पुग्न सक्ने ? भेटिएको मोबाइल छिन्न भिन्नको अवस्थामा भेटिनु लगायतका कारण त्यो आत्महत्या हुन नसक्ने बुझाइ रहेको भण्डारीले बताउनुभयो । प्रहरीले गहिरो गरी अनुसन्धान गर्नुपर्ने र अभियुक्तबाट अझ धेरै कुरा सार्वजनिक गर्न लगाउनुपर्नेमा प्रहरीले त्यसो नगरेको उहाँको आरोप थियो ।
त्यस्तै प्रहरीले पटक पटक गोप्य भिडियो छ भन्ने तर मृतकको परिवार र आफन्तलाई अझै सम्म देखाउन नमानेको भन्दै प्रहरीलाई प्रश्न गर्नुभयो । महिलाहरुले हेर्न नमिल्ने भिडियो भए पुरुष आफन्तहरुलाई देखाउनुपर्ने उहाँहरुको भनाई थियो ।
‘बढिमा १५ दिनभित्र भिसेरा रिर्पोट आउँछ भनेर एसपी सहितले भन्नुभयो, तर यतिका दिनसम्म पनि रिपोर्ट आएन खै रिपोर्ट ?’ उहाँको प्रश्न थियो । दोषि भए आफू पनि जेल जान तयार रहेको भन्दै कोमलनाथले घटनाको गहिराइमा पुगेर प्रहरीले अनुसन्धान थाल्नुपर्ने बताउनुभयो । साथै पक्राउ परेका सचिनले मरे मर भनेर छाडेको प्रहरीले बताइरहदा सचिनले त्यतिनै समय सुजिताको परिवारलाई फोन गरेर घटनावारे किन नबताएको भन्दै प्रश्न गर्नुभयो ।
सुजिता भण्डारीको परिवारलाई सामाजिक बहिष्कार गरिएको भन्दै सम्बन्ध सुमधुर गराइदिन समेत उहाँहरुले माग गर्नुभयो । असार ११ गते वेपत्ता भएकी भण्डारीको असार २० गते घरदेखि करिव ५ किलोमिटर टाढाको सामुदायिक जंगलमा शव फेला परेको थियो ।
मृतक भण्डारीको ठूलो बुबा कोमलनाथ भण्डारीले पत्रकार सम्मेलन मार्फत गाउँलेहरुले कुनै पनि कुरामा सहयोग नगरेको भन्दै सम्वन्ध सुधार गराइदिन सम्वन्धित पक्षसँग माग गर्नुभयो । राप्ती ३ का गाउँलेहरुले मृतक सुजिता भण्डारीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्न भनिरहेका थिए । तर गाउँलेहरुको कुरालाई अटेर गरी शव बुझेर अन्त्यष्टी गरिएको भन्दै गाउँलेहरुले असहयोग गर्दै आएको भण्डारीले बताउनुभयो । शव जलाउने देखि काजक्रिया र अहिले सम्म पनि सुजिताको परिवारलाई गाउँलेहरुले असहयोग गरिरहेको उहाँले बताउनुभयो । साउन २९ गते मात्रै सुजिताको वुवा यज्ञ विरामी हुँदापनि खैरनी ९ डाँडागाउँबाट आफू गएर अस्पताल लगेको बताउनुभयो । साथै आफूलाई पनि घटना मिलाउन भूमिका खेलेको आरोप लागेको भन्दै आफू अझैपनि सुजिताको हत्यानै भएको र प्रहरीको अनुसन्धान फितलो भएकोमा अडिग रहेको बताउनुभयो ।
शव बुझ्नेवारे आफूलाई सुजिताका आमा अम्बिका भण्डारीको माइती पक्षले झुठो बोलेको बताउनुभयो । सुजिताको आमाको माइती पक्षका लक्ष्मी खतीवडा, शान्ती निरौला र किशोर निरौलाले गाउँलेहरु समेत शब बुझ्न सहमत भएका छन् भनी झुठो बोलेको र त्यो कुरा आफूलाई अहिले पत्तो पाएको बताउँदै आफू सुजिता भण्डारीले न्याय पाउनुपर्ने पक्षमा रहेको प्रष्ट पार्नुभयो । माइती पक्षका तीनजनाले गाउँलेहरु समेत शव बुझ्न सहमत भएको भनेर समाजमा आगो लगाउने काम गरेको तर सम्वन्ध सुधार गर्न कुनै भूमिका नखेलेको आरोप लगाउनुभयो । किशोर निरौलाले शव बुझेर मृतक भण्डारीको बुवालाई मात्रै पठाएर आफू नआउनु पनि शंकाष्पद रहेको उहाँको भनाई थियो । गाउँहरुले असहमत जनाउदा जनाउदै शव बुझ्ने र शव पठाएर किशोर निरौला चाहिँ नआएको भन्दै प्रश्न गर्नुभयो ।
आफू अभियुक्त सचिन भण्डारीको काइलो बुवा र मृतक भण्डारीको ठूलो वुवा भएकोले घटना मिलाउन लागेको भन्ने स्थानीयहरुको आरोप झुठो भएको भन्दै प्रहरीले बढिमा १५ दिनभित्र भिसेरा रिपोर्ट आउँछ भनेपनि अहिले सम्म किन नदिएको भन्दै प्रश्न गर्नुभयो । मृतक सुजिता भण्डारीको साउन ४ गते देवघाटमा अन्त्यष्टी गरिएको थियो । आत्महत्या दुरुत्साहन मुद्दामा भण्डारीको दाई नाता पर्ने साइलोे वुवाका छोरा सचिन भण्डारी पक्राउ परेका छन् । उनलाई अदालतमा पेश गर्ने तयारी भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार