चितवनकी चेली राधा पौडेललाई परिचयको आवश्यकता छैन । नर्स, कवि, लेखक, मर्यादित महिनावारी अभियन्ता उनको नामभन्दा अगाडि लाग्ने उनको पहिचान बोकेका शब्द हुन् ।

खलंगामा हमला पुस्तकका लागि मदन पुरस्कार पाइसकेकी पौडेलको बाल्यकालीन संस्मरण समेटिएको पुस्तक `रोल नम्बर एक´ भर्खरै बजारमा आएको छ । पुस्तक अद्योपान्त पढेपछि थाहा भयो, यो पुस्तक त सबै बालबालिकालाई पढाउनै पर्ने पुस्तक रहेछ ।

सांग्रिला पुस्तक प्रा.लि.ले भदौ पहिलो साता बजारमा ल्याएको ‘रोल नम्बर एक’भित्र १३ वटा संस्मरणात्मक लेख छन् । एउटा लेखमा चित्र राखिएको छैन भने बाँकी १२ वटा लेखमा १७ वटा चित्र समावेश गरिएको छ । यी चित्रले पुस्तकभित्रका संस्मरणलाई थप प्रष्ट पार्ने काम गरेका छन् । पुस्तक पढ्दै जाँदा लेखक पौडेलको बाल्यकालसँगै पाठकले आफ्नो बाल्यकाल पनि सम्झन पुग्छन् । कतै बालिकामाथिको विभेद सम्झेर मन अमिलो हुन्छ ।

पुस्तकभित्रको सबैभन्दा लामो संस्मरण ‘चोर हूँ जस्तो’ सुरुमै राखिएको छ । २० पृष्ठको लेखमा ५ वटा पृष्ठ त चित्रले नै ओगटेका छन् । यसमा लेखक पौडेलले बाल्यकालमा गोठालो गएको, मेला गई धान रोपेको, दाउरा खोज्न जंगल गएको प्रसंग समेटिएको छ । दिदीहरुसँग दाउरा लिन जाँदा हुर्कंदै गरेका सालका पोथ्रा काटेको र अहिले आएर त्यो कामप्रति पछुतो लागेको भावना यसमा पोखिएको छ । त्यसरी पोथ्रा काट्दा प्रकृतिको सम्पत्ति चोरेजस्तो लागेको अनुभूति लेखकले राखेकी छिन् । जंगलमा जमुना, क्यामुना, अँगेरी, बयर, बर्रो खोजेर खाएको स्मरण गरिएको छ । साथीहरुसँग डण्डीबियो, कपर्दी, गट्टा, मोजाको बल खेलेको प्रसंगले लेखकका समकालीन पाठकलाई आ–आफ्नै बाल्यकालमा पुर्‍याइदिन्छ भने अहिलेका बालकालिकालाई ती खेलबारे जिज्ञासा जगाइदिन्छ ।

दोस्रो संस्मरण ‘भाकल’मा दमको रोगी आमालाई निको होस् भनी बरुवास्थित थानकी देवीलाई सम्झिएर भाकल गरेको तर आमालाई सञ्चो नभएपछि गाडामा राखेर बुबाले भरतपुर अस्पताल लैजानु परेको घटना उल्लेख छ । एक हप्तापछि लेखककी आमा स्वस्थ्य भएर घर फर्कन्छिन् । पटकपटक यसरी आमालाई उपचारका लागि अस्पताल लैजानु परेपछि लेखकमा भाकलप्रतिको विश्वास पातलो हुँदै जान्छ । अरुले परीक्षामा उत्तीर्ण हुनका लागि पनि भाकल गरेको देखेकी पौडेलले आफू भने भाकल नै नगरी कक्षामा प्रथम हुन्छिन् । यसपछि त उनले जीवनमा कहिल्यै भाकल नगर्ने दृढ प्रतिज्ञा गर्छिन् । यो संस्मरणमार्फत पौडेलले अन्धविश्वासमाथि झापड हानेकी छिन् ।

‘माटोको माया’मा लेखकले बुबाआमा लमजुङबाट बसाइँ सरेर चितवनको लक्ष्मीपुरमा आएपछि आफू त्यहीँ जन्मिएको र आफू चार वर्षको हुँदा बुबाआमा गौरीगञ्जमा आएको प्रसंग उल्लेख छ ।

पुस्तकको शीर्षक जुराइएको ‘रोल नम्बर एक’ चौथो क्रममा रहेको छ । चार कक्षाको अन्तिम परीक्षामा पहिलो भई रोल नम्बर एक भएको स्मरण गरेकी छिन् यसमा लेखकले । ‘रोएर कमजोर भइन्छ, पढेर पहिलो भइन्छ’ भन्ने आमाको प्रेरणाबाट आफू पहिलो हुन सम्भव भएको पौडेलले उल्लेख गरेकी छिन् ।
‘स्कुल फेर्दाको पीडा’ मा गौरीगञ्ज माविबाट सात कक्षाबाट पहिलो भएर आठ कक्षा पढ्न प्रेमबस्ती मावि जानु परेको र नयाँ विद्यालयमा असहज वातावरणको सामना गर्नुपरेको उल्लेख छ । गणितमा अब्बल पौडेलले सबै प्रश्नको हल गरेर पूर्णाङ्क ६० मा ५७ नम्बर ल्याएको र यो खुसीमा गणित शिक्षकले चिया खुवाएको सम्झिएकी छिन् यसमा । नयाँ विद्यालयको नयाँ परिवेश अनुकूल नहुँदा आठ कक्षामा चौथो हुनुपरेको पौडेलले लेखेकी छिन् ।

६ वर्षमा पहिलोपटक विद्यालय जाँदाको अनुभूति छैटौँ संस्मरण ‘विद्यालय’मा समावेश छ । विद्यालयमा भर्ना हुँदा शिक्षकले ‘ठूलो मान्छेको जन्ममिति राखिदिएको छु’ भन्दै पौडेल जन्मेको महिना पुस र गते १४ राखिदिएको प्रसंग रोचक छ । विद्यार्थीहरु मिलेर पैसा उठाई माटोको गाग्री किनेर खानेपानीको जोहो गरेको पनि पौडेलले सम्झिएकी छिन् यसमा । गाउँमा आगलागी, बाढी तथा पहिरोबाट प्रभावित भएकाहरुलाई जुनियर रेडक्रस सर्कलमार्फत् राहत संकलनमा सक्रिय रहँदाको प्रसंग छ ‘घाँसीको कथा’मा ।

पुस्तकको सबैभन्दा छोटो संस्मरण हो ‘जडौरी किताबको मोह’ । यसमा विद्यालयमा पढ्नुपर्ने किताब नयाँ नभई अरुले पढिसकेका पुराना पढ्नु पर्ने बाध्यता औँल्याउँदै पौडेलले साथीलाई पुरानो किताब सित्तैमा दिएको उल्लेख गरेकी छिन् ।

‘परिश्रमको फल’मा घरदेखि करिब ३ किलोमिटर टाढाको पसलमा तोरी बेचेर घरको लागि सामान लिएर फर्कंदै गर्दा १० रुपैयाँ बढी आएको थाहा पाई फिर्ता गरेको, पैसा फर्काउन जाँदा घर आउन ढिला भएको र झमक्क साँझ परेको सम्झिएकी छिन् पौडेलले । साँझ पर्दा पनि घर नपुगेपछि आफूलाई खोज्न निस्केकी आमाले बाटोमै फेला पारेको प्रसंग यसमा उल्लेख छ । ढिलो हुनाको कारण बताएपछि लेखकलाई आमाले भन्छिन्, ‘परिश्रम गरेर प्राप्त गरेको फल मात्रै मिठो र दिगो हुन्छ ।’
दसौँ संस्मरण ‘घरको नियमको अपरेशन’मा लेखको विद्रोही चेतना खुलेको छ । बहिनीलाई सँगै लिएर मकै डोब्न बारीमा जाँदा आफैँले एक फन्को हलो जोतेको प्रसंगले यही बताउँछ । छोरा र छोरीमा विभेद गरिएका नियम तोड्ने चाहना पनि यसमा अभिव्यक्त भएको छ । जातीय विभेदको बेवास्ता गर्दै दलित महिलाको भान्सामा सेलरोटी खाएको र घर पुगेपछि आमालाई नढाँटी भनेको प्रसंग उल्लेख गर्दै पौडेलले लेखेकी छिन्, ‘मैले न नुहाएँ, न सुनपानी नै छर्कें । आफूलाई चोख्याउने केही पनि गरिनँ । गरेँ त केवल बाहुन र दमै, सार्कीको घर समान बनाइदिएँ । घरका अवैज्ञानिक नियमहरु आफैँले एकएक गर्दै भत्काउँदै गएँ, नयाँ नियमहरु कुँद्दै गएँ ।’

एक्लै सुनसान ठाउँमा जाँदाको डर, आफूले महसुस गरेका गलत छुवाइ, कुलो कुर्दा भोगेको दुर्व्यवहार ‘मेरो स्वाभिमान’मा उल्लेख छ । होलीको दिन अबिर किन्न जाँदा लेखकले भोग्नुपरेको दुर्व्यवहार पढ्दा मन भारी भएर आउँछ । ‘प्राकृतिक जीवन’मा लेखकले फूलहरुसँगको संगत वर्णन गर्दै मानव जीवनलाई प्रकृतिसँग तुलना गरेकी छिन् ।
अन्तिम संस्मरण ‘मेरो साथी’मा लेखकले आफ्नो मिल्ने साथी मञ्जु विद्यालय नआउँदाको छटपटी पोखेकी छिन् । मञ्जुकी आमा महिनावारी हुँदा मञ्जुले खाना पकाउनु परेको, बुबालाई पस्केर दिएपछि जुठोभाँडो गरिसक्दा विद्यालय जान नपाएको प्रसंगले पाठकलाई द्रवित बनाउँछ । आमा महिनावारी हुँदा छोरी पढ्न जान नपाउनुभन्दा ठूलो बिडम्बना के हुन्छ र ?

‘रोल नम्बर एक’ पढिसकेपछि यसका केही कमजोरी महसुस भए । कताकति देखा परेका भाषिक अशुद्धि आँखालाई बिझाउँछ । संवाद र स्थान विशेषको वर्णन अलि अपुग लाग्छ । अन्तिम संस्मरणमा तीन जना विद्यार्थीले टाई लगाएको चित्रले गलत सन्देश दिएको छ । लेखक पौडेलले सार्वजनिक (सरकारी) विद्यालयमा पढेकी हुन्, संस्थागत (निजी) विद्यालयमा होइन । लेखकले विद्यालय पढ्दाको समय (पञ्चायतकाल)मा सार्वजनिक विद्यालयमा टाई लगाउने चलन थिएन, अहिले छ कतैकतै ।

समग्रमा यो पुस्तक बालसाहित्यको उत्कृष्ट नमुना बनेको छ । बालसाहित्य भए पनि युवा र प्रौढ व्यक्तिले यसलाई पढेर ज्ञान र मनोरञ्जन लिन सक्छन् । बालबालिकाले त यो पढ्नै पर्ने पुस्तक हो ।
बाल्यकालको संस्मरणको रचनागर्भबारे लेखक राधा पौडेल भन्छिन्, ‘आज म जे छु त्यसको जग के थियो भन्ने कुरा यो पुस्तकमा छ । बाल्यकालको स्मरण भए पनि यो पुस्तक बालबालिकाको लागि मात्र होइन, सबै उमेर समूहका लागि पढ्न उपयोगी हुने विश्वास लिएकी छु । बाल–मनोविज्ञान कस्तो हुन्छ भन्ने कुरा बुझ्न चाहनेका लागि पनि यो पुस्तक सहयोगी होला भन्ने ठानेकी छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार