गुल्मी घर भई हाल काठमाण्डौँ निवासी लेखक संघर्ष क्षेत्री लेखन कार्यमा सक्रिय छन्। उनीको प्रेमिल उपन्यास “साकुरा” सेट नेपाल प्रालीबाट प्रकाशित छ भने अर्को उपन्यास प्रकाशनको तयारीमा रहेको छ। आज “लेखकलाई १० प्रश्न” साहित्यिक स्तम्भ अंक-२ मा सजिलोपाटीका प्रधान सम्पादक सुरज बराकोटीले उनीसँग गरेका कुराकानी यस्तो रहेको छ:-
१. आजभोलि तपाईं के मा व्यस्त हुनुहुन्छ ?

कोभिड १९बाट सिर्जित समस्या समाधानको लागि भनेर सरकारले बन्दाबन्दी गरेपछिको सुरु-सुरुको समयमा म पनि फुर्सदीलो थिएँ । त्यतिबेला एकाग्र हुन सकिएन । लेख्दै गरेको प्रोजेक्ट पनि स्थगित गरेको थिएँ । फाट्टफुट्ट स-साना सर्ट मुभिको लागि स्कृप्ट लेख्दै थिएँ । पछि थाती रहेको उपन्यास र कथामा काम गर्दैछु । व्यस्तताको कुरा गर्दा अहिले अनलाइनमै भएपनि अफिस सुरु भएकोले व्यस्त नै छु ।

२. खासगरी पुस्तकहरू नपढी लेखक बन्न सकिन्न भन्छन् नि, यो भनाइ कत्तिको साँचो हो ?

लेखनको पहिलो पाठशाला भनेको पठन नै हो । पठनबिना लेखन त सम्भव देख्दिनँ म । आजभोलि पढेर मात्रै लेखनलाई पर्याप्त हुन्छ जस्तो लाग्दैन । पढ्नु त छदैछ । जस्तो आफूले कुन विषयमा लेख्दैछु त्यो विषय र परिवेश बुझ्नको लागि स्थलगत घुमफिर र अध्ययन अनुसन्धान जरुरी छ । तपाईंको प्रश्नमा म पुरापुर सहमत छु । लेख्नको लागि अधिक पढ्नु नै पहिलो शर्त हो । मेरै कुरा गर्नुहुन्छ भने समकालीन पुस्ताले के लेख्दैछ ? अनि यो समाजलाई हेर्ने दृष्टिकोण बुझ्नको लागि पनि म पढ्छु ।

३ . त्यसो भए तपाईं पढ्नको लागि कत्तिको समय खर्चिनुहुन्छ ? र तपाईंको कस्ता खालको किताबमा रुचि छ ?

लेख्ने बेला म पढ्दिनँ । जस्तो केही कथा उपन्यास लेख्दैछु भने त्यस सम्बन्धित किताब सकभर खोल्दिनँ । लेख्न भन्दा पढ्नमै समय खर्च हुन्छ । लेख्ने भनेको २-३ वर्षमा एउटा किताब त हो । अहिले पढ्नको लागि किताबको लामै सुचि तयार पारेको छु । विशेषगरी म आफै पनि आख्यानमा लागेको हुनाले कथा उपन्यास नै मेरो पहिलो रोजाइमा पर्छन् । कविताका किताबहरु पनि छानेर पढ्छु । त्यसपछि आर्थिकसम्बन्धि किताबहरु कुनै सफल उद्यमी, व्यवसायी र राजनीतिज्ञका अटोबायोग्राफीहरु पनि रुचिपुर्वक पढ्छु । ४. लेखक बन्न त किताब छापिनै पर्‍यो । नयाँ लेखकलाई पब्लिकेसन्सले झुल्याएको लेखकको व्यथा सुन्दै आएका छौँ । तपाईंको पनि छुट्टै व्यथा छ कि ?

पहिलो कुरा लेखक बन्न किताब छापिनुपर्छ भन्ने कुरा आंशिक सत्य हो । झट्ट सम्झिदा फलानु किताबको लेखक भन्ने भयो । तर यहाँ पुस्तक नआइसके पनि राम्रो लेखनको सम्भावना बोकेर लेखकहरु आएको पनि देख्न सकिन्छ । पत्रपत्रिका, अनलाइन र ब्लगमा राम्रो गर्नेहरू पनि देखा परेका छन् । नयाँ लेखकलाई पब्लिकेसन्सले झुल्याएको भन्नेमा मेरो स्पष्ट मत छ, ती प्रकाशक होइनन्, व्यापारी हुन् । उनिहरुको अर्थ सङ्कलनमै प्रमुख ध्यय हुन्छ । मैले यहाँ भन्न खोजेको लेखकबाट पैसा असुलेर व्यापारको धन्दा चलाउनेहरुलाई हो । राम्रो किताब लेखिन समय लाग्छ । त्यसलाई अझ राम्रो बनाउन अझ केहि समय लाग्छ नै । व्यवसायिक प्रकाशनहरुको हकमा भन्दा उनीहरु पनि नाफालाई पहिलो प्राथमिकतामा राख्छन् । यसलाई मैले अन्यथा मान्दिनँ । तर किताब प्रकाशन भनेको विशुद्ध व्यापार मात्रै पनि होईन । लेखकलाई प्रकाशकले झुल्याएको भन्ने जुन प्रश्न छ, त्यो भनेको लेखकबाटै पैसा लिएर छाप्ने प्रकाशनहरुको हकमा बढी छ ।अझ तपाईंलाई भनौं त्यस्ता प्रकाशकहरु किताब छाप्ने भनेर लेखकसँग मोटामोटी सहमति गरिसकेपछि किताब नछाप्दै नाफामा हुन्छन् । त्यस्ता प्रकाशकहरुको बोलवाला बिस्तारै हराउँदै छ । लेखकले राम्रो लेख्न सक्नुपर्‍यो । त्यसपछि धैर्य गर्न सक्नुपर्‍यो ।
जस्तो कहिलेकाहीँ राम्रै भनिएका प्रकाशकहरुले पनि राम्रो किताब चिन्न सक्दैनन् । कसरी पनि म यो भन्न सक्छु भने जुन किताब नामै नसुनिएको प्रकाशनबाट आएर पनि बजार पिट्छन् । पछि तिनै लेखक राम्रो भनिएका प्रकाशकहरुको खोसाखोसमा पर्छन् ।

५ . तपाईं त विज्ञान विषय लिएर पढ्नुभएको साहित्यमा कसरी रुचि बढ्यो ?

ठ्याक्कै यसरी नै भन्ने उत्तर म सँग छैन। तर मलाई मेरो हजुरआमाले सुनाउने परिकथा र आमासँग भिरपाखा गर्दैगर्दा आमाले गाउने लोकलय नै होला यस क्षेत्रमा आउनुको मुख्य स्रोत । मेरो आमाको पनि आफ्नै कथा छ । उहाँले पनि मैलेजस्तै लेख्न सक्ने भए कस्तो लेख्नुहुन्थ्यो भन्ने प्रश्न मनमा खेलिरहन्छ ।
६ . तपाईंको उपन्यास साकुरा कस्तो किताब हो ? पाठकले किन पढ्नुपर्छ ? साकुराबाट तपाईंले कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

साकुरा खासगरी प्रेमकथामा आधारित उपन्यास हो ।
यसमा बजारमा आएका थुप्रै लभस्टोरी भन्दा फरक तरिकाले लेखिएको छ । साकुरा शुत्रवद्ध उपन्यास होईन । जस्तो पुरानो नेपाली सिनेमामा हुने छ गीत चार फाइट हुन्छन् नि ! प्रायः लभस्टोरीमा देखिने फ्रेण्डसिप, बेस्टफ्रेण्ड, लभ रिलेशनसिप, ब्रेकप र अन्त्यमा प्याचपको फर्मुला देखिन्छ नि । तर साकुरामा केहि फरक छ । त्यसमा उठाउन खोजिएको एउटा विषय छ, पात्रमार्फत अन्तरघुलन गरेर प्रतिस्पर्धात्मक परिक्षा कसरी उत्तीर्ण गर्न सकिन्छ भन्ने कुरालाई उठाइएको छ । त्यसैले पाठकले यो किताब पढ्दा फाइदा नै होला ।
साकुराबाट मिश्रित प्रतिक्रिया पाएको छु ।

७. यदी तपाईंले साकुरा पुस्तक नलेख्नुभएको भए अरु लेखकले त्यस विषयलाई उठान गर्थे ?

सायद गर्न सक्थे । मैले हरेक कुरालाई फरक कोणबाट हेर्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले पनि कसै न कसैले यस दृष्टिकोणमा लेखिनुपर्थ्यो ।

८ . यदी तपाईं साहित्यको क्षेत्रमा नआउनुभएको भए साहित्यले के गुमाउँथ्यो ?

जस्तो समुन्द्रमा एक बाल्टी पानीको तात्विक भिन्नता हुन्न म साहित्यमा नआएको भए पनि त्यस्तै हो । म त अझ नेपाली साहित्यको लागि एक थोपा मात्रै हो । म यस क्षेत्रमा हुनु नहुनुले त्यस्तो केहि हुँदैनथ्यो । मैले यसरी बुझ्छु , यस पृथ्वीलोकमा म नभएको भए पनि त संसार चल्थ्यो । म नहुँदा पनि चल्छ नै । साहित्यमा लाग्नाले मैले साथिभाइ कमाएको छु । भावनात्मक आफन्त कमाएको छु । तर यस क्षेत्रमा लागेर केहि फरक दिने मेरो कोशिश जारी रहन्छ नै ।
९ . अहिले बजारमा लेखक बढी पाठक कम भए भन्ने हल्ला छ नि, के कारणले यस्ता हल्ला फैलने गर्छन् ?

परिदृश्यमा त्यस्तै देखिन्छ । तर ठ्याक्कै त्यस्तै पनि होईन । सुरु-सुरुमा लहडमा लेख्नेहरु धेरै हुन्छन् । जस्तो कि राजेश हमाललाई हेरेर हिरो बन्छु भन्ने नेपाली सिनेमाका दर्शक कति थिए होलान् ? त्यसमध्ये कति सिने उद्योगमा आए होलान् ? यहाँ पाठकहरुलाई लेखक बन्न मन लाग्नुलाई अस्वाभाविक ठान्दिनँ म । तर त्यसैगरी पढेरै आउने हो । डेडिकेशन जरुरी छ हर पेशामा । यसमा झन बढी नै !
अर्को कुरा हामी लेखकहरु आफै महान, आफै राम्रो भन्ने प्रवृति छ । अरुको किन पढ्ने ? भन्नेजस्ता अहम् बोक्नेहरु थुप्रै छौँ । कम्तिमा पछिल्लो पुस्तामा एकले अर्कोलाई पढ्ने । छलफल गर्ने । लेखिसकेपछि विश्वासपात्र लेखक साथिहरुबीच सल्लाह सुझाव लिने गरे अवश्य राम्रो किताब लेख्न सकिन्छ । होईन भने, यस्तो जाबो किताब त मै पनि लेख्न सकिहाल्छु नि भनेर लेख्न सुरु गर्ने जमात बढ्ने नै छ ।

१०. नयाँ किताबको तयारीमा हुनुहुन्छ । अरुभन्दा यो किताब कसरी फरक छ ?

साकुराभन्दा पहिले लेखिनुपर्ने किताब हो यो । त्यतिबेला यो किताबको लागि मेरो अध्ययन पुगेन । अध्ययन, अनुसन्धान र परिभ्रमण नगरी लेख्न सकिएको थिएन ।
म साइन्स मात्रै नभएर पलिटिकल साइन्स हुँदै फेरि अङ्ग्रेजी साहित्यको विद्यार्थी पनि हुँ । राजनीतिलाई नीतिको पनि नीति भनिन्छ । राजनीतिले नै समग्र कुरालाई निर्दिष्ट गर्दछ । यो सत्य हो । मैले यस किताबमा साहित्यले राजनीतिलाई पनि डोहोर्‍याउन सक्छ है भन्ने देखाउने अलिक अफ्ठ्यारो बाटो रोजेको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार