इटालीयन राष्ट्रिय फुटबल टिमले अपराजित खेल संख्या ३५ खेलसम्म लम्बाएको छ।विश्वकप छनोटअन्तर्गत बिहीबार राति बुल्गेरियासँग १-१ गोलको बराबरीमा रोकिएको इटालीले अपराजित खेल संख्या ३५ पुर्‍याउंँदै नयाँ कीर्तिमान पनि बनाएको छ।

इटालीले स्पेन र ब्राजिलको कीर्तिमानसँग बराबरी गरेको हो। यसअघि ब्राजिल सन् १९९३ देखि १९९६ को बीचमा ३५ खेलसम्म अपराजित भएको थियो।

पछि स्पेनले ब्राजिलको कीर्तिमान बराबरी गरेको थियो। ब्राजिलको कीर्तिमान बराबरी गर्ने क्रममा स्पेन २००७ देखि २००९ को बीचमा खेलेका ३५ खेलमा पराजित भएन। यसअघि इटालीले युरो कपको फाइनलमा इंग्ल्यान्डलाई हराउँदै उपाधि जित्ने क्रममा अपराजित खेल संख्या ३४ मा पुर्‍याएको थियो।

इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३५ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन। १० अक्टोबर २०१८ मा पोर्चुगलसँग १-० गोलले पराजित भएपछि इटालीले २९ खेलमा जित हात पारेको छ भने ६ खेलमा बराबरीमा रोकिएको छ।

यसअघि सन् २०२१ मा खेलेका १२ खेलमै जित हात पारेको इटाली यो वर्ष पहिलो पटक बराबरीमा रोकिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार