लेखराम सापकोटा
भरतपुर, २७ भदौ ।

आँपटारीबाट एककिलोमिटर देवघाटतर्फ लम्किएपछि दाहिनेपट्टि सडक किनारमै छन् करिव दुई दर्जन घर । अघिपछि खाली प्रायः हुने बागेश्वरी क्षेत्रका ती घरलाई कालीबहादुर दल गण भरतपुरका सैनिकले सुरक्षा दिइरहेका देखिन्छन् ।

शुक्रबार दिउँसो पुग्दा त्यहाँ बसेकाहरूको दैनिकी सामान्य लाग्दैनथ्यो । कोही एक्लै त कोही सानो समूहमा केही गरिरहेका देखिन्थे । उनीहरूले मोबाईल चलाएका थिए, भिडियो च्याट गरेका थिए, ब्याडमिन्टन खेलेका थिए ।

भवनको चारैतिर हरियाली जंगल छ । चराको चिरबिर सुनिन्छ, बाँदरको चकचक उस्तै, सरर चलेको हावाले रूखका पात मात्रै बज्दैनन्, तिनको शीतलो हावा आँतसम्मै आउँछ हरर हुने गरी ।

भरतपुर–१, बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा अरुबेला विभिन्नखाले दीर्घरोगीको प्राकृतिक उपचार गरिन्छ । एलोपेथिक उपचारले हैरान भएका र त्यसमा विश्वास मरिसकेकाहरु पनि त्यहाँको उपचारबाट तन्दुरुस्त भएर फर्किने गरेका थिए ।

अहिले बागेश्वरीमा ती दीर्घरोगीको उपचार हुँदैन । बरु विश्वव्यापी महामारी कोभिड–१९ (कोरोना भाइरस) संक्रमण भएकाहरु यो मनोरम प्राकृतिक वातावरणमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्राकृतिक चिकित्सालयले व्यवस्थापन गरेर सञ्चालन गरिरहेको आइसोलेसन केन्द्रमा आज शनिबारसम्म ४५ पुरुष र २७ महिला छन् ।

यहाँ आइसोलेसन सञ्चालन गरिएको दुई साता पुगेको छ । चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले कोरोना संक्रमितलाई योग, प्राणायाम, ध्यान र प्राकृतिक खानपानबाटै उपचार गरिएको बताए ।

गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेको छ । यसको कुनै खोप अहिलेसम्म बनेको छैन । प्राकृतिक खानपान, व्यक्तिगत सरसफाइ, तनाव व्यवस्थापन, शारीरिक व्यायाम र आत्मबलले नै रोगबाट छिटो मुक्ति पाइने विज्ञहरु बताउँछन् । कोराना जितेर फर्किएकाहरु पनि यही कुरामा जोड दिन्छन् ।

संक्रमितलाई १६ घन्टाको आवधिक उपवाससँगै ८ घण्टाको प्राकृतिक भोजन गराएर उपचार गर्ने गरिएको चिकित्सालयका निर्देशक डा. कोइरालाले बताए । उनका अनुसार संक्रमितलाई बिहान ५ बजे उठाएर नित्य कर्म गराउने, मह र कागती राखेर पानी पिउन दिने, योग, प्राणायाम र सूर्य स्नान गराउने, बाफ लिन लगाउने, जडिबुटी चिया पिउन दिने, बिहानको नास्ता गराउने गरिन्छ । “साढे ९ सम्म नास्ता गरिसकेका उनीहरुले २ घण्टा आराम गर्छन्”, डा. कोइराला भन्छन्, “त्यसपछिको आधा घण्टामा खाना खुवाइन्छ ।”

त्यसपछि दिउँसो २ बजेसम्म आराम गरेपछि ४ प्रकारका फलफुल खुवाएपछि फेरि आराम गराइन्छ । साँझपख प्रार्थना, मेडिटेसन र भजनको समय हुन्छ । सुत्नुअघि दूधमा बेसार मिलाएर पिउन दिने उनले बताए ।

आइसोलेसन बसेकाहरुले साँझ ५ बजे नै बेलुकीको खाना खान्छन् । “साढे ५ देखि भोलिपल्ट बिहान ९ बजेसम्म उपवास राखिन्छ”, डा. कोइरालाले भने, “यसो गर्दा शरीरमा शक्ति कम हुनुका साथै भोकको कारणले कोषको घटबढ हुन गइ कोषले भाइरसलाई नै खाइदिने हुनाले भाइरस नष्ट हुने र बिरामीले रोगबाट विजय प्राप्त गर्ने संभावना प्रबल बन्छ ।”

उपवास अवधिमा संक्रमितलाई चिया पानी भने दिने गरिएको छ । साथै, प्राकृतिक चिकित्सा पद्धतिले शरीरमा ऊर्जा थपिने, जोश जाँगर बढ्ने र रोगसँग लड्न सक्ने क्षमताको विकास हुने हुँदा यो पद्धति प्रभावकारी मानिएको छ ।

बागेश्वरीमा रहेको यो चिकित्सालय ६ विघा क्षेत्रफलमा फैलिएको छ । आइसोलेसन बनाइएका भवनले ३ विघा ओगट्छ । कालिबहादुर दल गणका १५ जना सैनिक यहाँ २४ घण्टै सुरक्षामा खटिएका छन् ।

डा.कोइरालाको नेतृत्वमा १८ जनाको चिकित्सकीय टोली यहाँ सेवारत छन् । अहिले १५ वटा कोठामा ५ जनाका दरले ७५ वटा आइसोलेसन बेड तयारी अवस्थामा छन् भने संक्रमित बढ्दै गएमा अरु कोठामा बेड थप्न सकिने निर्देशक कोइरालाले बताए ।

भरतपुर महानगरपालिकामातहतको यो आइसोलेसन सञ्चालनको लागि महानगरपालिकाले एक करोड रुपैयाँ उपलब्ध गराएको छ ।

कोरोना महामारी सुरु भएसँगै उद्योग संघले सञ्चालन गरिरहेको प्रदर्शनी केन्द्र भरतपुुरमा सञ्चालनमा ल्याइएको कोरोना विशेष (अस्थायी) अस्पताल व्यवस्थापकीय कमजोरीका कारण तीन महिनामै बन्द भयो । सुरुमा भरतपुर महानगरपालिकाकै अगुवाइमा स्थापना गरिएको अस्पताल पछि भरतपुर अस्पताललाई हस्तान्तरण गरियो । त्यहाँ विभिन्नखाले काण्ड भए । अख्तियारले समेत छापा हान्यो भने कर्मचारीहरु चोरी आरोपमा परे । पछि उनीहरुले सफाइ पनि पाए । तर, अस्थायी अस्पताल खुलेन ।

त्यसपछि कोरोना संक्रमित फेला पर्ने क्रम झनै बढेपछि आइसोलेसनको आवश्यकता बढ्दै गयो । अस्पतालका आइसोलेसनले मात्रै नधान्ने भएपछि भदौ १४ गतेबाट नगर क्षेत्रको आइसोलेसन केन्द्रका रूपमा यही अस्पताललाई प्रयोगमा ल्याएको हो ।

यो चिकित्सालय २०७४ असोजबाट सञ्चालनमा आएको हो । त्यस अगाडि यहाँ कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) को शिक्षालय थियो ।

के भन्छन् संक्रमित ?
आइसोलेसन बसेका संक्रमित यहाँको उपचार पद्धति देखेर अनौठो मानिरहेका छन् । पूर्ण प्राकृतिक वातावरणमा तालिकानुसारको हेरचाह र उपचारले उनीहरुको आत्मबल बढेको छ ।

“यहाँको उपचार पद्धतिबाट निकै खुसी छु”, आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका भरतपुर–११ का ४३ वर्षीय परशुराम खनालले भने, “हरेक दिन पौष्टिक आहार खाएर नियमित शारीरिक व्यायाम गरियो भने रोगसँग लड्न सकिँदो रहेछ भन्ने सिकियो ।”

बरु कोरोना पोजिटिभ भएपछि समुदायबाट गरिने अनेक भेदभावबाट आजित छन् उनी । कोरोना देखिएपछि उनी घर छोडेर यहाँ आए । तर, घरमा उनका परिवारलाई संक्रमितको परिवार भनेर अपहेलित गर्ने गरिएको दुखेसो सुनाए । “म यहाँ आएपछि पनि परिवारले पीसीआर गर्ने बेलामा छिमेकी र जनप्रतिनिधिबाट दूर्व्यवहार खेपेका छन्”, खनालले भने, “ कतै छोइन्छ कि भन्ने डरले पीसीआर गर्न पनि घाममा हिँडाएरै टाढासम्म लगेछन् ।” संक्रमित भनेर समाजले पनि परिवारलाई होच्याउने, तल्लो स्तरको गाली गर्ने गरेको उनले सुनाए ।

गोर्खाका २९ वर्षीय ज्ञानेन्द्र घिमिरे स्वास्थ्यकर्मी हुन् । उनी भरतपुर–११ मा भाडामा बस्छन् । उनलाई कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा बस्न बागेश्वरी आए । तर, भाडाको कोठामा बसेका उनका परिवारलाई संक्रमितको परिवार भनेर भेदभाव गर्ने गरेका रहेछन् । “हामी संक्रमितलाई समाजले यसरी हेर्ने गरेको छ कि”, घिमिरेले भने, “निको भएर कोठामा गइसके पनि त्यहाँ नियमित बस्न पाउने कुरामा शंका छ ।”

कोरोना पोजिटिभ हुनु ठूलो कुनै ठूलो रोग लागेजस्ते होइन । अधिकांश व्यक्तिमा १४ दिनको एकान्तवास र सामान्य उपचार पद्धतिबाटै यो संक्रमण हटेर जान्छ । केही दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई यो रोगले गाल्न सक्छ । डा. कोइराला त कोरोना पोजिटिभ हुन पाउनु भाग्य हो भन्छन् । “कोरोना पोजिटिभ भएको मान्छे निको भइसकेपछि उसको प्लाज्मा दिएर अरुलाई पनि निको बनाउन सकिन्छ”, उनले भने, “कोरोना जितेर जाने जो कोहीलाई पनि भविष्यमा सोही रोग पुनः नबल्झिने भएकोले आफूलाई भाग्यमानी सम्झिनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर