राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारणबारे पत्ता लगाउन गरिएको भिसेरा परीक्षण रिपोर्ट प्रयोगशालाले दिएको छ । असार २३ गते परीक्षणका लागि नमुना दिइएकोमा गत हप्तामात्रै रिपोर्ट आएको प्रहरीले जानकारी दिएको छ । काठमाडौँमा शिक्षण अस्पतालमा गरिएको पोस्ट–मार्टम रिपोर्टका कारण नखुलेपछि थप कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिएको थियो ।
रिपोर्टमा उल्लेख भएअनुसार मृत्युको कारणका सम्बन्धमा भनिएको छ, ‘भण्डारीको मृत्यु विषादीकै सेवनबाट भएको हुन सक्ने प्रबल सम्भावना रहेको हाम्रो राय छ ।’ फरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. गोपालकुमार चौधरी, उपप्राध्यापक डा. युजिन डोल्मा र उपप्राध्यापक मणिराज महर्जनले मृत्युको तीनवटा कारणहरुबारे उल्लेख गरेका छन् ।

आफैँले आफैँमा गराइएका चोटहरु मृतकको शरीरमा भएको, उक्त चोटहरु देब्रे हात तथा दाहिने खुट्टामा रहेको र यी चोटहरु सामान्यतया आत्महत्या गर्ने नियत भएका व्यक्तिमा पाइने चोटहरु हुन् भनी कारणमा खुलाइएको छ । शरीरका कुनै पनि अङ्गमा चोटहरु तथा मृत्यु गराउने रोगहरुका कुनै पनि लक्षणहरु छैनन् भनी उल्लेख गरिएको छ ।

घटनास्थलबाट बरामद बोतल परीक्षणका क्रममा भेटिएको विषादी जसको सेवनपछि शरीरमा परिवर्तितरुपमा परिणत भई छोटो समयमा नै विलय हुने र डिकम्पोजिनले समेत शरीरमा भएको विषादीलाई ह्रास गर्ने भएकाले भिसेरा परीक्षणमा विषादी नदेखिएको रिपोर्टमा उल्लेख छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको टक्सोलोजी इकाइमा भुँडी, कलेजो र मिर्गौला परीक्षण गरिएको थियो । भिसेरामा मुसा मार्ने विषादीहरु नभेटिएको, अर्गानोफस्फोरस, अर्गानोक्लोरिन, कार्बामेट तथा पाइरेथ्रोइड समूहअन्तर्गतका कीटनाशक विषादी नभेटिएको उल्लेख छ । तर, बोतल परीक्षणका क्रममा भने विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनअनुसार घटनास्थलबाट बरामद माउन्टेन डिउको बोतलमा रहेको सेता तरल वस्तुको परीक्षण गर्दा साइपरमेथ्रिन पायाराथ्राइड कीटनाशक विषादी पाइएको उल्लेख छ, तर भिसेरामा कुनै पनि विषादी नपाइएको उल्लेख छ । प्रयोगशालाका प्रमुख वैज्ञानिक ओमप्रकाश शर्माले उल्लेखित विषयलाई रायको रुपमा दिएका छन् ।

राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युसम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा चलिरहेको छ । यस घटनाका आरोपित सचिन भण्डारीसँग चितवन अदालतले साउन ३२ गतेको आदेशले ५० हजार धरौटी माग भएको छ । मृतक र आरोपित नाताले दाजुबहिनी हुन् ।

असार ११ गते हराएकी सुजिताको शव असार २० गते राप्ती नगरपालिका वडा नं–३ कै ब्रह्मास्थान सामुदायिक वनस्थित आँपगैरी खोल्सामा भेटिएको थियो । स्थानीय र परिवारले अपहरणपश्चात् हत्या भनी केही दिन सडक जाम गरेर आन्दोलन नै गरेका थिए । प्रशासनले २ दिनसम्म त्यस क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार