प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टी महाधिवेशन तयारीलगायत विषयमा कुराकानी भएको छ।

बिहीबार बिहान सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच बालुवाटारमा कुराकानी भएको हो।

कांग्रेसले भदौ १८ मा छ हजार सात सय ४३ वडामा अधिवेशन गर्ने भने पनि जम्मा ५६ जिल्लामा मात्रै अधिवेशन भएका छन् भने २१ जिल्लाभित्रका वडाहरूमा अधिवेशन बाँकी नै छ।
सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतासम्बन्धी विवाद छ। बागी उम्मेदवारले पनि क्रियाशील सदस्यता पाउनु पर्ने आवाज उठेका छन्।

तलबाट पठाइएका नाम काटेर केन्द्रबाट थप गरिएकोमा डडेल्धुरा कांग्रेसले विरोध गरेको छ। भदौ २५ मा अधिवेशन गर्ने भने पनि दुई पक्षबीच विवाद समाधान हुन सकेको छैन।

अन्यत्र पनि क्रियाशीलबारे विवाद देखिएका छन्। यसबारे छलफल गरी निचोड निकाल्न सभापति र वरिष्ठ नेता कुराकानी गरेका हुन्। महाधिवेशन तयारीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बूढानिलकण्ठमा शीर्ष नेताहरूको बैठक बस्ने सम्भावना पनि रहेको स्रोतले जानकारी दियो।

कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने भनेको छ। भदौ २७ मा गाउँपालिका र नगरपालिका अधिवेशन गर्ने भने पनि वडा अधिवेशन नै सकिएको छैन। अब गाउँ/नगर अधिवेशन सर्ने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार