आफ्नो चार वर्षे कार्यकाल सकाएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आजबाट विदा हुनुभएको छ । घिसिङले चार वर्ष पहिले भदौ २९ गते कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाउनुभएको थियो । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त हुँदासम्म मुलुकमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भैरहेको थियो ।

तर जिम्मेवारी सम्हालेकै वर्षको तिहारबाट घिसिङले काठमाडौं उपत्यकाबाट अनौपचारिक रुपमा लोडसेडिङ मुक्त अभियान शुरु गर्नुभएको थियो । चार वर्षे कार्यकाल सकिदासम्म घिसिङ उक्त अभियानमा सफल भएका छन् । अहिले देश नै लोडसेडिङमुक्त भैसकेको छ ।

घिसिङ कार्यकारी निर्देशक बन्नु अघिसम्म नेपाल विद्युत प्राधिकरण घाटामा सञ्चालन भइ सरकारी अनुदानमा निर्भर थियो । त्यसैले घिसिङले प्राधिकरणलाई आत्मनिर्भर बनाउने अर्को महत्वाकांक्षी अभियान चलाउनुभयो । फलस्वरुप अहिले प्राधिकरण अत्मनिर्भर मात्र होइन वार्षिक अर्बौं नाफा कमाउन सफल भएको छ ।

घिसिङको कार्यशैलीबाट प्रभावित सर्वसाधारणले पुनः कार्यकारी निर्देशकमा घिसिङकै निरन्तरता चाहेका छन् । तर कार्यकाल सकिने अन्तिम दिनसम्म पनि सरकारले यसबारेमा कुनै निर्णय गरेको छैन । त्यसो त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार भएको छ ।

उक्त प्रस्ताव आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ । ऊर्जमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको उहाँका प्रेस सल्लाहकार दयानिधी भट्टले जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई फेरि जिम्मेवारी दिने सहमति भइसकेको छ । मन्त्री पुनले सोहीबमोजिम चार वर्षका लागि घिसिङलाई नै कार्यकारी निर्देशक बनाउने प्रस्ताव तयार पार्नुभएको हो । तर अन्तिम दिनसम्म पनि निर्णय नहुँदा घिसिङको निरन्तरताबारे अन्यौल देखिएको छ ।

चार वर्षे कार्यकालको अन्तिम दिन आज कुलमानले ऊर्जामन्त्री वर्षमान पुनलाई भेट्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको व्यस्तताले पछिल्लो समय मन्त्रिपरिषद्को बैठक बस्न नसकेको कारण कुलमानको पुनः नियुक्तिबारे ढिलाइ भैरहेको स्रोतको भनाइ छ । सम्भवतः भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट कुलमानबारे निर्णय हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।
स्रोत:सौराहा अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार