
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएपनि हालसम्म क्षतिको कुनै विवरण नआएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
यद्यपि यो भूकम्पले पहिरोको जोखिम थप बढाएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । त्यसैले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको उनले जानकारी दिए ।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि हल्लाएको थियो ।
२०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ ।
बुधबार बिहानको भूकम्पले जमिन थप कमजोर बनाएको अनुमान गर्दै प्रजिअ ढकालले भने, ‘पहिरोको जोखिम बढ्यो, आर्मी र एपीएफलाई अलर्ट बस्न भनेको छु ।’