
झापा निवासी लेखक रुपक अधिकारी लेखन कार्यमा सक्रिय छन्। उनीको पहिलो उपन्यास “साढे तीन हत्या” बुलबुल पब्लिकेसन्सबाट प्रकाशित छ भने अर्को उपन्यास प्रकाशनको तयारीमा रहेको छ। आज “लेखकलाई १० प्रश्न” साहित्यिक स्तम्भ अंक-३ मा सजिलोपाटीका प्रधान सम्पादक सुरज बराकोटीले उनीसँग गरेका कुराकानी यस्तो रहेको छ:-
१. आजकल के मा व्यस्त हुनुहुन्छ?
लकडाउन र त्यसपछि चरणबद्ध निषेधाज्ञाका कारण धेरै जनसंख्या फुर्सदमा छ । म पनि त्यो मध्य एक हुँ । नयाँ योजना बुनिरहेको अवस्थामा लकडाउनको साँचोले गर्दा योजनाको ढोका औपचारिक रुपमा उघाउने मौका मिलेन । एकातिर पढाईलाई उमेरले छेक्दैन भनेर पढ्न सुरु गर्नु अर्कोतिर योजनाहरु तर्जुमा गर्न नपाउनुले मनमा खिन्नता आएको थियो । यी सबै तनाबबाट बाहिरिन छुटेका पुस्तकहरु पढ्न , सिनेमा हेर्न र केही फुर्सदको समयमा अर्गानिक सागसब्जी खाउँ भनेर कसरत गर्नमा ब्यस्त छु । यति गरिसकेपछि मनमा बाँध पनि नजम्ने र स्वस्थ पनि रहने भईयो ।
२. किताब पढ्नमा कत्तिको रुचि राख्नुहुन्छ? नेपाली साहित्य वा अंग्रेजी साहित्य कुनमा बढी अभिरुचि छ?
किताब रहरमा पढिन्थ्यो । मेरो पढाईको यात्रा शुक्रबार बजारमा आउने साप्ताहिकले सुरु गराएको थियो । बिस्तारै उमेर बढेसँगै किताबहरु छिटफुट किनेर पढें । म भारतमा हुँदा बाबाको अफिसको लाईब्रेरिमा पुस्तकहरुका चाँग थिए । फुर्सदमा प्रेमचन्दका कथाहरु पढ्न सुरु गरें र चाख बढ्दै गयो । पछि मलाई फरक शैली , फरक सोचले तान्न थाल्यो । पाउलो कोल्होको किताबहरु किनेर पढें । निकोलस स्पार्क्सका किताब पढें । अस्विनी दाजुको किताब पढें । बुद्दिसागर दाइ , अमर दाइ , कृष्ण धारराबासी , बिजय सर लगायतलाई पढिसकेपछी नगरकोटी दाइको मिस्टिकामा आइपुग्दा मलाई स्वाद थाहा हुन थाल्यो । मलाई जतिनै राम्रो भएपनी सरल शैलिका किताबहरुले खासै प्रभाव पारेनन तर म सौखिन भैसकेकाले धेरै किताबहरु पढ्न मन पराउँछु । मलाई अंग्रेजी किताबले बढी तान्ने गर्छन् ।
३. अहिले सम्म मनपरेको कुनै एउटा किताबको नाम लिनुपर्दा कुन किताबको नाम लिनुहुन्छ?
मन परेका पुस्तकहरु त थुप्रै छन् । नेपाली , अंग्रेजी , हिन्दी र अन्य थुप्रै भाषाका अनुवादित कृतिहरु तर मन परेको कृति कुन हो भन्दा आँखा चिम्लिदा पनि याद आउने भागवत गीताको नाम लिन चाहन्छु । संसारमा उर्जा दिने , हामिलाई जागरुक बनाउने ध्येयका साथ थुप्रै पुस्तक लेखिए तर भागवत भन्दा ठूलो मोटिभेसनल किताब सायदै अरु कुनै भेटिएला । बाँकी अग्रज स्रस्टाहरुको थुप्रै पुस्तक छन् र केही नव पुस्ताको पुस्तक पनि छुटाउनै नमिल्दो छ । जस्तै कि सिपाहिको डायरी । हुन त यो द्वन्दकालिन सत्य कथा भएकाले पनि हुनुपर्छ धेरैको मनमा बसेको छ ।
४. पुस्तक बजारमा कस्ता पुस्तकले बढी बजार पाउने गरेको छ? नयाँ लेखकको पुस्तकले बजार पाउन कत्तिको गाह्रो छ?
बजारको कुरा गर्ने बित्तिकै सिन्डिकेटको याद आउँछ । कलेज पढ्दा सरहरुले चलेको कलेज पढाउने सरले लेखेका किताब रिफर गर्नुहुन्थ्यो बिस्तारै देख्दैछु यो त एकेडेमिक मात्र नभई हरेक क्षेत्रका किताबमा छ । नाम चलेका लेखकरुका किताब पढ्न सुझाउने धेरै भेट्छु र साँच्चै पढ्नुपर्ने किताब आँफै खोज्नुपर्छ । त्यसैले बजारमा कुन छ म त्यसलाई पछ्याउँदै हिँड्दिन ।
हरेक क्षेत्रमा नेपोटिजम र सिन्डिकेट हाबी छ त्यसैले कस्ता पुस्तकले बजार पाउँछन् भनिरहन पर्दैन । कुनैकुनै किताबहरु अनायसै बेस्ट सेलर बनिदिन्छन – कारण हो ब्रान्ड । चलेका लेखक र पब्लिकेसनको मिलेमतोमा बजारमा साना र राम्रा किताबहरु पुग्नै पाउँदैनन् जस्तो लाग्छ ।
यति सब भनिसकेपछी नयाँ लेखकका पुस्तकले बजार पाउने नपाउने भनिरहन पर्दैन । यहाँ पुरानाहरु मारमा छन् तर अर्को एउटा सत्य के पनि छ भने थोरै पढ्ने संख्या यस्ता पनि छन् जो हरेक पढ्नुपर्ने किताबहरु खोजी खोजी पढ्ने गर्नुहुन्छ ।
५.म पनि लेखक बन्न सक्छु भन्ने विचार तपाईँलाई कुनबेला लाग्यो?
लेखक बन्न सक्छु भन्ने बिचार त ऐलेसम्म पनि आएकै छैन । कस्तो अचम्म छ है लेखक बन्नुपर्ने । लेखक हुन पुस्तक निकाल्नुपर्ने । खै किन हो मलाई आजसम्म पनि लेखक बन्छु वा म लेखक हो भन्ने नै छैन । आफ्नो अनुभूति बाढ्नु , भावानाहरु समेटेर एउटा रुप दिनु लेखक हुनु हो र ? त्यस्तो हो भने पुस्तकको रुप नदिने मेरा बा लेखक हैनन र ? साँच्चै लेखकले त अनुभवबाट धेरै कुरा सिकाउँछन् नि हैन र ? मैले आत्महत्या नहोस् । कसरी बच्ने भनेर भनिरहँदा धेरै बुझ्नसक्नु भएकै छैन । मैले बुझाउन नसकेपछी म लेखक कसरी भएँ र ? म बारम्बार आँफैसँग यहि प्रश्न गर्छु भन त तँलाई पढेर आजसम्म कतिजानाले मृत्यु जितेका छन् ? म अनुत्तरित छु । म बाल्य अवस्थामा आपुरा सृजनाहरु गर्थे र आफैले मृत्यु जितेका दिनबाट एउटा जिन्दगी लेख्न सुरु गरें । तर म आजपनी एउटा कुरा भन्छु जुन बारम्बार भनिरहेको छु लेखक बन्ने सपना नदेख्नुस र लेख्न कहिल्यै नछोड्नुस् ।
६.”साढे तीन हत्या” जस्तो फरक धारको आख्यान लेखिनुपर्छ भन्ने किन लाग्यो?
पहिलो कुरा त साढे तीन हत्या फरक छ जस्तो लाग्दैन । फरक कसरी छैन भन्दा जिन्दगी धेरै पटक लेखिएको छ । प्रेम त हरेक १० मध्य ९ किताबमा लेखिन्छ । मैले प्रेम र जिन्दगी एक साथ समेटेर फरक शैलीमा लेख्ने आँट भने गरेकै हो । आजपनी अधिकांश पाठकहरु शैलिका कारण रनभुल्ल परेका छन् ।
अर्को कुरा मैले आफ्नो जिन्दगीको अन्तिम बिन्दुबाट नयाँ सुरुवात गरेपछी लाग्यो यस्तो त सबैले महसुस गर्छन् । र सबैले यसरिनै आत्महत्या गर्ने हो भने जिन्दगीको सुन्दरता कसले बुझ्ने र कसले बुझाउने । आफ्नै जिन्दगीको सेरोफेरोमा कल्पनाको पहाड चढेर भएपनी सबैको जिवनी लेखेर मृत्युलाई जित्नुपर्छ भन्ने लाग्यो । मन र मस्तिष्कको लडाइँ पछि जन्मिएको जिन्दगी लेखनैपर्छ भनेर लेखेको हो । र फरक शैलीमा किन भन्दा नेपाली साहित्यमा विविधता आओस् र यसको आकार पनि फराकिलो होस् भन्ने ध्येयले साढे तीन हत्या लेखिनुपर्ने महसुस भयो ।
७. नयाँ सर्जक भएर पाठकहरुसँग भिज्न तपाईँलाई कत्तिको कठीन भयो? पाठकहरुको साथ कत्तिको पाउनुभयो?
सर्जक आफैमा पहिलो पाठक हुन्छ । नेपाली लेखन शैलीमा विविधता नभएकाले सुरुसुरुमा धेरै पाठक र म बिचमा अन्तरसम्बाद हुन पाएन । जसको मुख्य कारण शैलिनै रह्यो । चिया , चुरोट र यौनमा अल्झनु मात्र छ केही बुझिन्न यस्तो पनि पुस्तक हुन्छ र सम्म भन्ने प्रतिक्रिया आयो । म खुसी भएँ । मलाई कथा उत्कृष्ट छैन भन्ने राम्रोसँग थाहा थियो र सजिलै बुझ्ने पाठक भेटाउदिन भन्ने थियो । र तेस्तै पनि भयो । नबुझिनाले होला दोहोरिनु परेको र माया पोख्ने क्रममा दोब्बर तेब्बर हुने गरेको पाएँ किनकी बुझेपछी जिन्दगिको सुन्दरता बुझाउनु भएकोमा धन्यवाद भन्नेहरु भेट्टाएँ । पाठकहरुको भरपुर साथ पाएको छु । आजपनी भर्खरै बजारमा आएजस्तो नयाँ जस्तो गरेर प्रेम बाँढिरहनुहुन्छ र भन्नुहुन्छ यो आउँदो पुस्तासम्म नयाँ रहन्छ । मलाई सबैभन्दा प्रिय महसुस भयो किनकी पिढी दर पिढी सबैको मनमा बस्छ भन्नुहुने पाठक त मेरो जिवनले हासिल गरेको सबैभन्दा ठूलो पुरस्कार हो । यहाँ भन्दा साथ पाउन बाकी अरु के होला र भरपुर साथ छ । र सबैप्रती म सधै आभारी रहनेछु ।
८. आलोचनाबाट कत्तिको अत्तालिनु हुन्छ? आलोचनाबाट निराश हुनुभएको पल छ?
तालिभन्दा गाली बढी मन पर्छ । किनकी जब गालिको माझमा एउटा मात्र ताली बज्छ त्यो गुन्जयमान हुन्छ र सबैको ध्यान बटोर्न सफल हुन्छ । त्यसैले आलोचनासँग डर लाग्दैन । बरु यस्ताआआअ आलोचनाहरुले आफुलाई सुधार गरेर अघि बढ्न हौसला दिन्छ । एक किसिमले आलोचक भन्दा ठूला शुभचिन्तक अरु मुस्किलले भेटिन्छन् ।
तर लेखक बजारमा आएपछि प्यारले मात्र नहुँदो रहेछ । बजारमा ब्यापार पनि हुन्छ र कहिलेकाही आलोचनाले ब्यापार खाइदिने होकि भन्ने डर पनि रहन्छ । तर म सँधै आलोचकको सम्मान गर्छु ।
९. यदी तपाईँ साहित्य क्षेत्रमा नलाग्नु भएको भए साहित्यले के कुरा गुमाउथ्यो?
साहित्य नासवान छ । साहित्यले गुमाउने भनेको एउटा श्रष्टा हो जुन फगत नम्बर मात्र हो । किनभने म नभए अरु कोहि र अरुकोही नभए चलिआएका श्रष्टाहरु । तर यदि साँच्चै म नहुँंदा केही गुम्थ्यो भने नयाँपन हुनसक्थ्यो । धेरैले मेरो नयाँपनकै कुरा गर्नुहुन्छ जुन आउन साद अझ केही बसन्त अरु पर्खनुपर्थ्यो ।
१०.नयाँ किताबको प्रकाशनको तयारीमा हुनुहुन्छ। नाम पनि सोच्नु भइसक्यो होला। यो किताब अरु किताब भन्दा फरक कसरी छ? मुख्य गरि कुन बिषयलाई उठाउने कोसिस गर्नुभएको छ?
लकडाउनमा पनि थुप्रै पुस्तकहरु आए सायद मेरो पनि आउनसक्थ्यो तर बन्दाबन्दिमा हतारिनु ठिक लागेन र केही समय अझ दिएँ । जसले सर्वतमा अझ मिठास थप्ने मौका दिएजास्तो लाग्छ । यो समाजमा छुटेको एउटा अध्यायलाई संस्कार र बिज्ञान मिसाएर उतार्ने प्रयास छ । आधा मण्डप अरुभन्दा फरक छ किनभने मेरो शैली पहिले सबैले कबुल गरेबमोजिम फरक छ र अर्को कुरा यो हाम्रो समाजको एउटा सबैले देखेको तर कसैले नहेरेको पाटो हो । सायाद धार्मिक साम्प्रदायिक मामिलामा सबै डराउनु भएको हुनुपर्छ । संस्कार र धर्मका गुण र अबगुण केलाउन खोजेको छु साथै धर्ममा कति बिज्ञान र कति प्रेम छ देखाउन भरपुर प्रयास गरेको छु।