
चितवन निवासी लेखक मिनराज बसन्त लेखन कार्यमा सक्रिय छन्। उनीको “मुदिर” र “पिपिरी” उपन्यास प्रकाशित छन् । आज “लेखकलाई १० प्रश्न” साहित्यिक स्तम्भ अंक-३ मा सजिलोपाटीका प्रधान सम्पादक सुरज बराकोटीले उनीसँग गरेका कुराकानी यस्तो रहेको छ:-
१.आजकल के मा व्यस्त हुनुहुन्छ?
ठ्याक्कै भन्नुपर्दा यति बेला म एकाध किताबअनुवाद गर्दैछु ।
२. किताब पढ्नमा कत्तिको रुचि राख्नुहुन्छ? नेपाली साहित्य वा अंग्रेजी साहित्य कुनमा बढी अभिरुचि छ?
पठनबिना लेख्न सकिँदैन । लेखेबिना बस्न सकिँदैन । अत: यी दुई मेरा लाइफ-साइकल हुन् । भाषागत रूपमा भन्नुपर्दा म नेपाली, अङ्ग्रेजीबाहेक हिन्दी पनि पढिरहेको हुन्छु । भारततिरको लामो बसाइँमा हिन्दी पढ्ने बानी लाग्यो । कहिलेकाहीँ सोच्छु, नेपालीभन्दा बढी हिन्दी पो पढेँ कि । (पढेर कहिल्यै सकिँदैन र जतिसुकै पढे पनि त्यो चीज ‘धेरै’ हुँदैन भन्नेमा म प्रष्ट छु ।) अब मैले अभिरुचिबारे थप व्याख्या गर्नु नपर्ला होइन त !
३. अहिले सम्म मनपरेको कुनै एउटा किताबको नाम लिनुपर्दा कुन किताबको नाम लिनुहुन्छ?
उफ् ! कस्तो गाह्रो काम । यद्यपि प्रश्न आफैं अपूर्णचाहिँ छँदैछ । कुन भाषा ? कुन विधा ? म टोटल्ली कन्फ्युज्ड । तर नेपाली, नेपालीभाषी भएको कारण नेपाली किताबकै नाम लिन्छु- तरुण तपसी । कवि शिरोमणि लेखनाथ पौड्यालको यो काव्यकृति जति पढ्छु उति गहिरो लाग्छ । एउटा छुट्टै दर्शन रहेको पाउँछु । यसका थुप्रै श्लोक कण्ठाग्र छन् । त्यसमा गरिएको प्रकृति चित्रण, पन्छी-संवाद, वैराग्यता र चरम मानवीय संवेदनाले हुरुक्कै पार्छ । लठ्याउँछ ।
४. किताब लेख्ने प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ?
पहिलो प्रेरणा म आफैं । दोस्रोमा कुनै पात्र, घट्ना वा विषय । तर तपाईंलाई भनिहालुँ, समय सन्दर्भअनुसार यिनीहरूले आफ्नो स्थान परिवर्तन गरिरहेका हुन्छन् ।
५. “मुदिर” र “पिपिरी” को जन्म कसरी हुनपुग्यो? यो किताबहरुबाट कस्तो प्रतिक्रिया पाउनुभयो?
‘मुदिर’ विशुद्ध वैदेशिक रोजगारीको कथा हो । अरब गएपछि मैले यो लेखेँ । अरब मेरो प्रेरणाको स्रोत भो, मुदिरमा ।(तपाईंको माथिल्लो प्रश्नको जवाफ यहाँ पनि जोडिन आउँछ।) यसै गरी ‘पिपिरी’ चाहिँ बाल्यकालिन नोस्टाल्जिया हो मात्रै भन्दा पिपिरीमाथि अन्याय होला वा ऊ रिसाउला । बाल्यकाल सँगसँगै सामाजिक सजातीय वर्गभित्रको भेदभाव, बालकको आँखाबाट देखिएको त्यो जैविक समय आदिलाई उतार्ने कोसिस गरेको छ । हामी सबैको छुटेको बाल्यकाल पिपिरीमा भेटिन्छ ।
प्रतिक्रियाको हिसाबमा मुदिर नै अगाडि छ । किनकि वैदेशिक रोजगारीमा जाने पचास लाख युवाहरूको प्रतिनिधि कथा हो यो । सरकारले महत्त्वपूर्ण र गम्भीरतासाथ सम्बोधन गरिनुपर्ने इस्यु हो यो । थोरै भए पनि मैले लेखेर खाडीको केही अनुभव/अनुभूति साटेँ । सायद यसले धेरैलाई छोयो होला । कतिसम्म भने केही व्यक्तिहरूले मेरो नाम भन्दा चिन्नुहुन्न । तर मुदिर भन्दा चिन्नुहुन्छ ।
६. साहित्य क्षेत्रमा थुप्रै लेखकहरु हुँदाहुँदै पाठकहरुले तपाईको किताब नै किन पढ्नुपर्छ?
‘मेरो गोरूको बाह्रै टक्का’ अर्थात् मेरो किताब पढ्नैपर्छ म कसैलाई भन्दिनँ । पाठकेच्छामा भर पर्छ । तर किन पढ्ने भन्ने सन्दर्भमा मेरो एउटै कुरा छ, किताब (त्यसमा प्रयुक्त विषय) ले तपाईंलाई घर बसेरै संसार घुमाउन सक्छ । थुप्रै विषयबारे जानकारी दिन सक्छ । त्यो पनि अतिन्यून मूल्यमा ।
७. सामान्यतया एउटा किताब लेख्न कत्तिको समय लिनुहुन्छ?
लाग्छ नि हौ टन्नै । समयसँग सम्बन्धित रहेर कुरा गर्दा, म फास्ट फुड लेखक बन्न सकिराको छैन । साह्रै ढिलो पो छु ।
८. आलोचनाबाट कत्तिको अत्तालिनु हुन्छ? आलोचनाबाट निराश हुनुभएको पल छ?
सत्यताको धरातल टेकेर गरिएका आलोचना, आलु-चना (पाच्य) नै हुन्छन् । सन्तुलित आलोचना भनेको उद्यानका बिरुवा हुन् । जसलाई गोडमेल जरुरी हुन्छ । यस्तो खालको गोडमेलले ऊर्जा भर्छ । निखार ल्याउँछ । तन्दुरुस्त रहन सहयोग गर्छ । म सधैं सन्तुलित आलोचनाको पक्षमा हुन्छु ।
।
९. यदी तपाईँ साहित्य क्षेत्रमा नलाग्नु भएको भए साहित्यले के कुरा गुमाउथ्यो?
त्यसरी मैले हेरेकै छैन । के गुमाउँथ्यो होला साँच्ची ?
१०. नयाँ पुस्तकको तयारीमा हुनुहुन्छ कि?
छैन नभनम् क्यारे । पहिलो ड्राफ्ट सकेर आनन्दले बस्या छु । मुड आएपछि झिकेर चलाउँछु । त्यही हो अहिलेलाई ।