
तिमी पनि सधै हुने छैनौ
उस्तै बलियो उस्तै शक्तिशाली
हुने छैन उस्तै तिम्रो रुप अनि आकार
तिमिलाई पनि फुटाल्ने छ समयले
बनाउने छ टुक्राटुक्रा
मिसाइनेछ घोलमा पानि अनि सिमेन्टसङ्ग
बिछ्याइनेछ आवश्यकता अनुसार
बाटोमा कालो अलकत्रासङ्ग
पर्खालहरुमा,घरका भित्तामाहरुमा
यसै गरि अनेक प्रयोजनमा
अनेक प्रायोजकहरुले
के तिमिलाई फुटाल्दा
कुट्दा घनले दुख्दैन र ?!
तिम्रो मुटु रुदैन र ?!
हो त्यहि फुल हुँ म
तिम्रो माथी उम्रेको थिए
कुनै दिन तिमिले भनेका थियौ
त्यो गोधुली साँझमा
ए फुल,
तिम्रो दिन आउदैछ समाधीको
चुडिनेछौ छिठै तिमी
कसैले टिप्नेछ तिमिलाई
उन्नेछ धागोमा सियोले
हुनेछौ प्रयोग अनेक प्रयोजनमा
हुनेछ्न अनेक प्रायोजकहरु
कतै सुखमा त कतै दु:खमा
सन्तोष हुने छैनौ तिमी
कति पीडा हुन्छ होला
घाँटीमा लड्किरहन
कस्तो मन दुख्छ होला है
कसैको हातमा च्यापिएर बस्न
म के नै गर्न सक्छु र !
के गर्नु ढुङ्गा जस्तो भएनौ
बलियो भएर बस्ने
खैर समयले कसैलाई छोडेन
न ढुङ्गा न फुल ।।।