दिनेश सुनारले गत माघमा चौथोपटक गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाए। उनले ट्राम्पोलिन (उफ्रिन मिल्ने लचकदार रबरको सामग्री) मा ‘ब्याक समरसल्ट’ (उल्टी जम्प) हानेर कीर्तिमान राखेका हुन्।

दिनेशले आफ्नो तयारीमा ३६० पटकको लक्ष्य राखेका थिए। अमेरिका पुगेर अझै राम्रो गरे। एक घन्टामा ४६० पटक ट्राम्पोलिनमा ब्याक समरसल्ट गरेर यो विधाको रेकर्ड राख्न उनी सफल भए।

त्यस अघि उनी एकठाउँबाट अर्को ठाउँमा उफ्रेर पुगेको देखेर गाउँका मानिसहरु चकित परे । र, कतिपयले त उनलाई हनुमानको अवतार समेत ठाने । सामान्य परिवार र गाउँले परिवेशमा हुर्के बढेका दिनेशको विलक्षण प्रतिभालाई खोटाङका मानिसले हनुमानको दर्जा दिएका थिए ।

कतिपयले त साँच्चीकै हनुमानको अवतार ठानेर दर्शन गर्न समेत आउन थाले । उनी उफ्रेको देख्ने गाउँलेहरु कोही हनुमानको रुपमा भगवानले पठाएको भन्थे त, कोही उड्ने मान्छे भनेर चर्चा गर्न थाले । उनले गाउँमै हुँदा हनुमान, पहलमान, उड्नेमान्छे जस्ता उपनाम पाए ।

उनको चर्चा दिनप्रति दिन बढ्न थाल्यो । गाउँघर हुँदै, दिनेश सुनारले पढ्ने स्कुलमा पनि हल्ला पुग्यो । लुकिछिपी जंगलमा आफैले खाडल खनेर, सल्लाको पिरल जम्मा गरेर उफ्रने दिनेशलाई जिल्लामा हुने विभिन्न कार्यक्रममा पत्र आउन थाल्यो ।

स्कुल, मेलापर्व वा जिल्लामा हुने कार्यक्रममा दिनेश आउँदैछन् भन्ने सुन्ने जो कोही पनि उनलाई हेर्नका लागि उत्सुक हुन्थे । यसले उनको खेलमा झनै हौसला थपिदै गयो । दिनेश भन्छन्, “म खेल्ने खेलको नाम के हो भन्ने मलाई पनि थाहा थिएन, मैले त फिल्म हेरेर सिकेको हुँ ।”

गाउँकै पाखापखेरा र कान्लामा हाम फाल्दै गरेको कसरतले कुन बेला उनलाई पार्करमा पोख्त बनाएछ आफैलाई पत्तो भएन । उनी भन्छन् “मलाई त यस्तो हाम फाल्नुलाई पार्कर भन्छन् भन्ने कुरा काठमाडौँ आएपछि थाहा भयो ।”

यो खेलमा आउँदा भोगेका अनगिन्ती दुःख मध्ये काठमाडौँमा घरवेटीले लेखेटी लखेटी कुटेको र जंगलमा सल्लाको पिरलमा उफ्रदाको याद आझै ताजा रहेको उनले सुनाए ।

जिल्लाको सापातेल गाविसमा भलिवल प्रतियोगिता थियो । त्यो हेर्न सशस्त्र प्रहरीका तत्कालिन महानिरीक्षक सनतकुमार बस्नेत आएका थिए । त्यहाँ दिनेशले जिम्न्यास्टिकका आकर्षक ‘स्टन्ट’ गर्ने अवसर पाएका थिए । बस्नेतले दिनेश खेलेको देखेर उनलाई काठमाडौं बोलाए ।

काठमाडौँमा थप तालिम पाउने भएपछि दिनेश निकै हौसिए । भन्छन् –‘ आफ्नै ठाउँमा बसेर तालिम लिने अवस्था थिएन । मलाई खेलको नाम समेत थाहा थिएन । विश्व रेकर्डका लागि पहिलो पाइला देखाउने बस्नेत सर नै हुनुहुन्थ्यो । यदि उहाँ त्यो कार्यक्रममा नगएको भए र मैले मौका नपाएको भए म गाउँमै हनुमानको अवतार बनेर बसिरहन्थें होला ।’

पार्कर खेलबाट गिनिज बुक अफ वल्र्डमा चौथो पटक नाम लेखाएका दिनेश भन्छन् ‘म जब दशरथ रंगशालामा तालिमको लागि पहिलो पाइला टेकेँ, अनि हेरेको हेरैँ भएँ, मनमनै सोँचे तालिम गर्ने ठाउँ नेपालमा यस्तो पनि रहेछ । अचम्मै परे !’

पहिलो अनुभव सुनाउँदै भने, ‘त्यहाँ म भन्दा धेरै सिनियर खेलाडी हुनुहुँदोरहेछ । निकै व्यावस्थित ढंगले खेलेको देख्दा मलाई अचम्म लाग्यो तर, मैले त जहाँ पनि जम्प हान्थे । सुरुमा मलाई देखेर उहाँहरु दंग पर्नुभयो।’

‘गाउँमा फिल्म हेरेर, सल्लिपिरलमा तालिम गरेको म ! काठमाडौँको तालिमपछि देशको लागि विश्व रेकर्ड राख्ने इच्छा पलाएर आयो ।’ उनी भन्छन् ।

उनले त्यही अनुसार दिनरात मेहनत कडा मेहनत गर्न सुरु गरे, जसको परिणाम २०१७ मा पहिलो विश्व रेकर्ड राख्न सफल भए । उनी मात्तिएनन् । अनावश्यक रुपमा हौसिएनन् । बरु अभ्यास गर्दै गए । र अर्को विश्व रेकर्ड सन् २०१८ बनाए । उनले तेस्रो रेकर्ड २०१९ मा राखे ।

उनलाई खेलको माध्यमबाट देशलाई विश्वभर चिनाउने तलतल अझै मेटिएन झनै बढेर गयो । त्यसैले उनी सन् २०२० मा अमेरिका पुगेर चौथो पटक पार्करमा विश्व रेकर्ड कायम गरे ।

उनी खेलमा यति धेरै डुब्न थालेकी मानौ दिनेश यसकै लागि जन्मेका हुन् । आर्थिक रुपमा समस्याका बाबजुत आफुले सोचेको स्थानमा पुगेरै छाड्ने अठोट र आत्मविश्वसा उनमा कायमै रह्यो । तर उनलाई राज्यप्रति कुनै गुनासो छैन । खासै ठूलो आशा पनि छैन । भन्छन् –‘धेरै होइन, जीवन निर्वाहको लागि राज्यका तर्फबाट केही गरिदिए अझ अगाडि बढ्न सक्थें ।’

यस्तो जोखिमपूर्ण काम गर्न रुचाउनेहरुको संख्या निकै कम छ । तर दिनेश यसमै रमाउँछन् । उफ्रिँदै, कुद्दै, हाम फाल्दै विभिन्न कठिनाइ पार गरेर कुनै एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने खेल हो पार्कर ।

यो खेल सुन्दा र हेर्दा जति आनन्द आउँछ त्यत्ति सजह छैन । सुरुका दिनमा उनले धेरै चोटहरु सहनु पर्यो, यहाँसम्म कि देव्रे खुट्टा भाँचिदा झण्डै चार महिना हस्पिटलको बेडमा पल्टनु पर्यो ।

‘यसमा कतिबेला के हुन्छ अत्तो पत्तो हुँदैन । खुट्टा मर्किने भइरहन्छ ।’ दिनेशको भोगाई छ । पार्कर मात्र होइन, दिनेश राष्ट्रिय जिम्न्यास्टिक खेलाडी पनि हुन् ।

देश भन्दै विश्वभर नेपालको झण्ड फहराएपनि राज्यका संचालकहरुलाई भने त्यसको खासै मतलव छैन । उनी भन्छन्, ‘अहिलेसम्म म राज्यको सहयोगबाट खेलेकै छैन, सबै व्याक्ति विशेष वा प्राइभेट कम्पनिहरुकै सहयोगबाट हो । राज्यबाट अहिलेसम्म कुनै सहयोग भएको छैन ।’

खेल क्षेत्रमा राज्यका तर्फबाट ठूलो रकम खर्च हुँदै आएको छ । तर रेकर्ड ब्रेकर दिनेशले राज्यका तर्फबाट त्यस्तो कुनै सहयोग पाएका छैनन् । कहिलेकाँही कुनै नीजि कार्यक्रममा प्रमुख अतिथि बनेका नेताका तर्फबाट प्रमाणपत्र पाउनेबाहेक दिनेशप्रति राज्यका संचालकहरुको ध्यानै छैन ।

देशको नाम विश्वमा चिनाउने प्रतिभावान युवा दिनेशप्रति उनलाई चिन्ने नेपालीहरु गर्व गर्छन् । तर राज्य उदासिन नै छ । यस्तो गुनासो दिनेशको मात्र होइन, धेरै खेलाडीहरुले सुनाउँदै आएका छन् । राम्रा राम्रा प्रतिभाहरु मैदान जीविकोपार्जनका लागि मैदान छाड्न बाध्य भएका छन् ।

स्रोत: पार्कर खेलाडी दिनेश सुनार, खासोखास खबर तथा अन्य अनलाइन समाचार

प्रतिक्रिया

सम्बन्धित खवर