परासी निवासी लेखक आकाश बराल लेखन कार्यमा सक्रिय छन्। उनीको पहिलो उपन्यास ‘स्पर्श’ बुलबुल पब्लिकेसन्सबाट प्रकाशित छ भने उनीद्वारा लिखित फिल्म ‘चपली हाइट ३’ सार्वजनिक हुने तयारीमा छ। साप्ताहिक साहित्यिक स्तम्भ ‘लेखकलाई १० प्रश्न’ सजिलोपाटीका प्रधान सम्पादक सुरज बराकोटीले उनीसँग गरेका कुराकानी यस्तो रहेको छ:

१.आजकल के मा व्यस्त हुनुहुन्छ?

लकडाउको पहिलो चरण त अन्यौलमै बित्यो । के गर्ने के नगर्ने केही योजना नै बनाउन सकिएन । आजकल चाहीँ एउटा फिल्म र एउटा टिभी सिरिजको पटकथा लेख्ने काममा व्यस्त छु ।

२.हजुरको अभिरुचि के मा छ? पछिल्लो समय प्रकाशित भएको कुनै किताब पढ्नु भएको छ?

रुची त धेरै कुरामा छ । बिशेष रुची चाहीँ कथावाचनमा हो । कथा भन्नको लागी अक्षर मात्रै माध्यम नभएर होला अरु माध्यमको बारेमा पनि बुझ्न मन लाग्छ । तर मैले सिक्ने कोशिस गरिरहेको माध्यम चाहीँ अक्षर नै हो ।
पछिल्लो समय चलचित्रको साधन स्रोत, यसका आयाम र भाषा बुझ्ने प्रयास गरिरहेको हुनाले नयाँ प्रकाशित पुस्तक चाहीँ पढेको छैन । पुरानै बाँकी छन् धेरै । पछिल्लो समय प्रकाशित भएको किताबमा ‘‘कुमारी प्रश्नहरु’’ भन्ने कथासङ्ग्रह पढेको थिएँ ।

३. ‘जीवन’ लाई परिभाषित गर्नुपर्यो भने एउटा लेखकको रुपले यसलाई कसरी परिभाषित गर्नुुहुन्छ?

म सामान्य कुराहरुको त परिभाषा दिन सक्दिन, जीवन त निकै परको कुरा भयो । परिभाषा भनेको त निष्कर्ष जस्तै हो । जीवनको निष्कर्ष के हो त मैले बुझेको छैन ।
फेरि हरेक मान्छेको दृष्टीकोणमा फरक छ जीवन । र सायद जीवनको सुन्दरता पनि अपरिभाषित हुनुमै छ ।

४. किताब प्रकाशन हुनु अघि र भैसके पछिको दिनहरुमा आफूले जिउने जीवनमा कत्तिको फरक पाउनु भएको छ?

किताब प्रकाशनलाई अनुभवको रुपमा लिने हो भने अदृश्य परिवर्तन धेरै नै भएको छ । लेखन र पठनप्रतिको मेरो धारणा र कथा वाचनको चेतनामा परिवर्तन महसुस गरेको छु ।
तर यी सब महसुस गर्ने खालका मात्रै हुन नत्र बाहिरी जीवन जीउने तरिकामा भने केही परिवर्तन भएको छैन । उस्तै छु । केही पाठकहरुले चिन्नुभएको छ । त्यसले गर्दा कथा लेख्ने कुरामा दबाब महसुस भइरहेको छ, सकरात्मक दबाब हो यो । नत्र मलाई लेख्न अल्छी लाग्ने । नलेखीरहन पनि सक्थेँ ।

५. विषयवस्तु छनौट र लेखनको हिसाबले नेपाली साहित्यले कत्तिको फड्को मार्दै छ ?

नेपाली साहित्यलाई लेखकको हिसाबले बिश्लेशण गर्ने बेला मेरो भएको छैन । तर एउटा पाठकको हैसियतले के चाहीँ भन्न सक्छु भने लेखन शैलीमा नेपाली साहित्य अब्बल नै भए पनि विषयबस्तुमा चाहीँ विविधता देख्दिन । शैली फरक भएर फरक लाग्छ नत्र कतिपय लेखकहरुको विषयवस्तु पहिले नै पढिसकेको जस्तो लाग्छ । धेरै जसो सामाजिक विषयवस्तुमा लेखिएको भएर पनि होला ।

६. विभिन्न डिजिटल माध्यमहरुको बिकाससँगै भविष्यमा पठन संस्कृतिमाथि कस्तो प्रभाव पर्ला?

सामान्य प्रभाव अहिले पनि परिरहेकै छ । मनोरन्जनको लागी मात्रै किताब पढ्ने पाठक प्रविधिले घटाएको हो, किनकी मनोरन्जनको सजिलो साधनहरु छन् अहिले । तर अनुभव र ज्ञानको लागि पढ्ने पाठकहरुलाई कहिल्यै पनि असर गर्नेछैन । माध्यम परिवर्तन होला तर पठन संस्कृतिमा ठूलै कमि आउला जस्तो लाग्दैन ।
पठन संस्कृतिमा ठूलै कमि आयो भने त बौद्घिक चेतनामा धेरै असर देखिन थाल्छ नि । शरीरलाई स्वस्थ राख्न शारीरिक अभ्यासको आवश्यकता भएजस्तै, मष्तिस्कलाई स्वस्थ राख्न पढ्ने काम त मानसिक अभ्यास नै हो । मान्छेले अभ्यासै गर्न छोड्लान् र?

७. भनिन्छ, गहिरो भावनामा डुब्न नसक्ने व्यक्ति लेखक बन्न सक्दैनन्। यो कुरा कत्तिको साँचो हो?

लेखकै बन्न सक्दैनन् भन्नु चाहीँ अति हुन्छ, म भन्दिन । र फेरि गहिरो भनेको कति गहिरो हो? गहिरो त जेलाइ नि भन्न सकिन्छ । पोखरी कति गहिरो छ भन्दा घुँडा घुँडा सम्म, कम्मरसम्म, छातीसम्म या मान्छेनै डुबाउने? कति गहिरो, सबै गहिरो नै हो नि । मान्छे भएपछि लेखक जो नि बन्न सक्छ ।

लेख्नको लागी आफ्नो भावनालाई बुझ्ने प्रयास गरे पर्याप्त छ जस्तो लाग्छ मलाई । बुझ्नै पर्छ भन्ने पनि छैन प्रयास काफी छ । डुब्नै पर्छ भन्ने हुँदैन होला ।
बरु भावना नभएको मान्छे चाहीँ लेखक बन्न सक्दैन भन्न सकिन्छ । तर भावना नभएको मान्छे कहाँ छ र?

८. पहिलो पुस्तक ‘स्पर्श’ को जन्म कसरी हुनपुग्यो? यस किताबबाट के कस्तो प्रतिक्रिया पाउनुभयो?

खासमा स्पर्श उपन्यास, लेखक हुने मेरो हुटहुटीले जन्माएको हो । तर लेख्ने क्रममा के अनुभव हुँदै गयो भने लेख्नुको अर्थ लेखक हुनु मात्रै होइन रहेछ । लेखेको मैले हो, कथा मेरो हो तर लेख्ने क्रममा मैले नचिनेको म लाई देखाउँने रहेछ । मेरो भावना, सोँचहरुसँग परिचित गराउँदै लाने रहेछ । भनेपछि मैले स्पर्शलाई आकार दिइरहेका मात्र होइन रहेछ, स्पर्शले पनि मलाई आफ्नो बारेमा चिन्ने मौका दिइरहेको रहेछ । त्यसैले म स्पर्शलाई आफ्नो सन्तान भन्दा पनि गुरु मान्छु ।
यसको प्रतिकृया पनि धेरैजसो सकरात्मक नै आयो र आइरहेको छ ।

९. किताब लेख्दा पात्र र बिषयवस्तुको छनौट कसरी गर्नुहुन्छ?

सुरुसुरुमा के को बारेमा लेख्ने भनेर विषयवस्तुको बारेमा साह्रै चिन्ता हुन्थ्यो । तर आजकाल विषयवस्तुको बारेमा म धेरै चिन्ता लिएर बस्दिन । लेख्न बसेपछि विषयवस्तु आउँछ नै । गाह्रो भनेको आफैभित्रको भावना अभिव्यक्त गर्न हो । प्रा.डा. डिपी भण्डारीले पनि भन्नुभएको छ ‘लेखनको विषय त कुकुरको पुच्छर पनि हुन्छ तर त्यसलाई लेख्ने शैली भने आफ्नो चाहिन्छ ।’
पात्रहरुको बारेमा भने म निकै सोँच्छु । धेरै समय दिन्छु । के पनि लाग्छ भने, विश्वसनिय कथा लेख्नको लागी पात्र धेरै महत्वपूर्ण हुन्छ । आफूले देखेको धेरै पात्रबाट एउटा पात्र बनाउँछु या एउटै पात्रबाट धेरै ।

१०. उपन्यास ‘स्पर्श’ र आउँदै गरेको नेपाली चलचित्र ‘चपली हाइट ३’ को स्क्रिप्ट लेख्दा कत्तिको फरक महसुस गर्नुभयो?

उपन्यास लेखन र पटकथा लेखन निकै फरक विधा हो, भलै दुबैले भन्ने कथा नै हो । यो उजस्तै हो के, गीतार बजाउँदा र पियानो बजाउँदा के फरक हुन्छ भनेजस्तै । निकाल्ने दुबैले संगीतको धुन नै हो । साधन नै फरक भएपछि, बजाउने तरिका र त्यसबाट निस्कने आवाज फरक हुने नै भयो ।
त्यस्तै दुबैका आ आफ्नै अप्ठ्यारा सजिला पाटाहरु छन् । दुबैको सुरुवात अक्षरबाटै भएपनि अन्तिम स्वरुपमा ठूलो भिन्नता छ । एउटा पर्दाको लागी लेखिन्छ अर्को पानाको लागी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार