
सिन्धुली घर भई हाल काठमाडौं निवासी लेखक प्रकाश कोइराला लेखन कार्यमा सक्रिय छन्। उनीको बि एन पुस्तक संसारबाट ‘प्रपञ्च’ उपन्यास लगायत ‘यो देशको नाउँमा’, ‘जागृति जागरण’, ‘आरुआरती’, किताबहरु प्रकाशित छन्। आजको ‘लेखकलाई १० प्रश्न’ साहित्यिक स्तम्भको अंक ०६ मा सजिलोपाटी डट कमका प्रधान सम्पादक सुरज बराकोटीले उनीसँग गरेका कुराकानी यस्तो रहेको छ:
१. आजकल के मा व्यस्त हुनुहुन्छ?
आजकाल अध्ययन,स्वअध्ययन र लेखनकर्ममै व्यस्त भइरहेको छु।
२. हजुरको अभिरुचि के मा छ? कुन विधाको किताब पढ्न बढी मन पराउनुहुन्छ?
मेरो रुचि सदैव शिक्षणकर्म र साहित्य लेखनमै गढिएर रहेको भान भैरहेको छ । काव्य,आख्यान र गैह्रआख्यान सराबरीनै पढिरहेको हुन्छु ।
३. म पनि लेखक बन्न सक्छु भनी कुन बेला महसुस भयो?
वि.सं. २०५९ सालमा कक्षा नौ मा अध्ययनरत हुँदैताका नरेन्द्र चापागाईँद्वारा लेखिएको पुस्तक ” नवीन नेपाली व्याकरण र रचना” पढ्दै गर्दा त्यहाँभित्र समाविष्ट छन्द र छन्दका नियमहरू पढेपश्चात् वसन्ततिलका छन्दमा ” श्रमको फल” र पञ्चचामर छन्दमा ” वसन्त महिमा” शीर्षकको कविता लेखेँ । सानैदेखि बुबा वेद कोइरालाले छन्दमा कविता सुनाउनुहुन्थ्यो ,रस त्यतिबेलै सुषुप्तरुपले पसेको रहेछ । यी फुटकर कविता लेखेपश्चात् म पनि लेख्न सक्छु भन्ने आभास भएको थियो ।
४. “प्रपञ्च” किताब प्रकाशन हुन १० बर्ष लाग्यो भन्ने हल्ला छ त बजारमा, कुरा के हो?
“प्रपञ्च” उपन्यास वि.सं. २०६६ सालको दशैंमा लेखेर सकिएको थियो । २०७६ फाल्गुन २४ गते बिएन पुस्तक संसार मार्फत प्रकाशित भयो । यो हल्ला नभएर सत्य हो।
५.”प्रपञ्च” को जन्म कसरी भयो?
रामेछाप जिल्लाबाट अवसरको खोजीमा जीवन धान्नेक्रममा बसाइँ सरेर तराईतिर झरेका परिवारहरूसँग साक्षात्कार भएपछि यो उपन्यास लेख्ने चाहना मनमा प्रकट भएको थियो । सुरुमा यसको नाम
” मुटुकी राजकुमारी” राखेको थिएँ तर सामाजिक यथार्थ कथा ओझेलमा पारेर शीर्षक राख्नुहुन्न भनी शुभचिन्तक लेखकमित्रहरूले बारम्बार झकझक्याउनु भो, फलस्वरूप: शीर्षक बदलेर “प्रपञ्च” राखेँ। छोटकरीमा भन्नुपर्दा यसैगरी जन्म भो प्रपञ्चको।
६. कतिले त समालोचना भन्दा पनि आलोचना पनि गरे होलान्। आलोचनाबाट कत्तिको अत्तालिनु भयो?
एउटा समालोचकले ४८ त्रुटीहरू बुँदागतरुपमा देखाउनुभएको प्रकाशित भएपछि त अतालिनु मात्रै होइन ,अब मेरो साहित्यिक क्यारिएर सकिने भो भन्ने मनमा लागेर रातभरि-दिनभरि आँखा ओभाएका थिएनन्, आँखाभन्दा बढी हृदय रुँदै थियो। तर त्यस समालोचनाले दिल स्थीर राख्न,जेजस्तो परिस्थिति पनि सामना गर्न र गल्ती भएका केही ठाउँमा आउँदा दिनहरूमा सच्चिएर अघि बढ्न केही न केही दिशानिर्देश गरेको छ ।
७.लेखनमा पुर्वीय वा पश्चिमी दर्शनको भुमिका कतिको होला? तपाईको अनुभवले के भन्छ?
लेखनमा पूर्वीय र पश्चिमी दर्शनको भूमिका रहन्छ नै तर पनि लेखन एक कलात्मक अभिव्यक्तिको माध्यम हो! पूर्वीय आध्यात्मिक दर्शन , पश्चिमी बाइबलमा आधारित दर्शन ,बुद्ध दर्शन, कुरान र मुन्धुमका दर्शन र विभिन्न खालका वादहरू साथै साहित्यिक आन्दोलनहरूको महत्व रहेता पनि लेखनमा समाज र सामाजिक दृष्टिकोण ,मानवीयता तथा मानव विकासका कुराहरू पनि आउनुपर्छ भन्ने मरो अनुभव हो ।
८. ज्ञान अरु किताबबाट पनि पाइएला र मनोरञ्जनको माध्यम अरु पनि होलान्। इतिहासको लागि त इतिहासको छुट्टै किताब भइ नै हाल्छन्। साहित्यिक किताब नै किन पढ्नुपर्छ?
साहित्यको मूलश्रोत नै जीवनको दु:ख र मनको ज्वारभाटा नै हो ,दु:ख भोगेको र लोकको दु:ख बुझ्न सक्ने हृदय भएको मान्छेले साहित्य लेख्ने हो । फेरि दु:ख के हो , दु:खको कारण ,दु:खको निवारण र निर्वाणप्राप्तिबारे त बुद्धदर्शनमा छँदैछ ,अतिरिक्त वर्णन किन चाहियो भनेर सोध्नुभो भने जवाफ दिन अझै कठीन हुनसक्छ । तर दु:ख र दु:खी प्रवृत्तिबाट घनघोर विचलित मान्छेले साहित्य लेखेको हुन्छ र त्यो साहित्य पढेर त्यस्तै दु:ख झेलेका पाठकहरूको मनमा शान्ति छाउन सक्छ । मनको चिरफार र मनको शान्तिको निम्ति साहित्यको अपरिहार्यता सदैव रहिरहनेछ ।
९. “कविता” विधाबाट “आख्यान” मा प्रवेश गर्न कत्तिको अप्ठ्यारो महसुस गर्नुभयो?
आम लेखक एवं पाठकको साझा धारणा छ -” एउटा असल कवि असल आख्यानकार हुनसक्छ !” मेरो फरक धारणा छ -” एउटा असल कवि खराब आख्यानकार पनि हुनसक्छ किनकि कविता लेखनमा भन्दा ज्यादा मेहनत ,परिमार्जन ,अभ्यास , समय र जागरुकताको आवश्यकता पर्दोरहेछ आख्यान लेख्नको निम्ति ।
१०. कुनै नयाँ पुस्तकको तयारीमा हुनुहुन्छ? अब किताब प्रकाशन गर्नुपर्दा बिषयबस्तु कसरी रोज्नुहुन्छ?
तीन खण्डकाव्य ,२ कथा संग्रह ,२ कविता संग्रह र १ उपन्यासका पाण्डुलिपि तयार छन्, यिनलाई पूनर्लेखन/परिमार्जन गर्ने विचारमा छु । कुनै प्रकाशनगृह वा कसैले छापिदिनुभो भने २०७७ चैत्रमा वा २०७८ को सुरुमा कुनै एक किताब बजारमा आइपुग्नेछ होला । मेरो लागि लेख्नुभन्दा बढी सकस प्रकाशक भेटाउनुमा भैरहेको छ ।